२२ वैशाख २०८१, शनिवार

सबै फाइल खोल्ने हो भने नेताहरु जेलबाहिर भेटिदैनन् : रबि लामिछाने

१ भदौ २०८०, शुक्रवार
Image

विर्तामोड, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले भ्रष्टाचारका सबै फाइल खोल्ने हो भने पुराना दलका अधिकांश नेताहरुलाई जेल बाहिर नभेटिने दावी गर्नु भएको छ ।

विर्तामोडको सीटी सेन्टरमा शुक्रवार दिउँसो पार्टीले आयोजना गरेको जनसभामा उहाँले त्यस्तो बताउनुभएको हो ।

‘तीन वटा फाइल खुल्दा त यो हालत छ,’ रास्वपा अध्यक्ष एवम् सांसद् लामिछानेले भन्नुभयो–‘भ्रष्टाचारका सबै फाइल खुल्ने हो भने औंलामा गन्न सकिने नेताहरु मात्र जेल बाहिर हुनेछन् ।’

उहाँले पुराना राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो र आगामी ०८४ को आम चुनावमा रास्वपाका उम्मेद्वारहरुलाई जिताएर जनताले पुराना दललाई घण्टी बजाइदिने उद्घोष गर्नुभयो । 

पुराना दलहरुप्रति निकै आक्रामक हुनुभएको उहाँले नेतालाई सम्पत्ति जोड्न र सुविधासम्पन्न मात्र बनाउन अहिलेसम्म राजनीति भइरहेको टिप्पणी गर्दै उनीहरु नसुध्रिने बताउनुभयो ।

रास्वपाका अध्यक्ष लामिछाने संगठन विस्तार अभियान लिएर महामन्त्री मुकुल ढकाल, सांसद् सन्तोष परियार, सांसद् निशा डाँगी लगायतका नेताहरुको दलबलसहित विहीवार काठमाडौंबाट झापा आउनु भएको हो । विहीवारै उहाँले इलामको फिक्कलमा एउटा जनसभामा भाषण गर्नुभयो भने शनिवारसम्म उहाँ झापाका धेरै स्थानमा पुग्नुहुने पार्टीका झापा अध्यक्ष उमेश खरेलले जानकारी दिनुभएको छ ।