२५ वैशाख २०८१, मङ्गलवार

मुहान संरक्षण गर्दा बन्यो नागधारा पर्यटकीयस्थल

१ भदौ २०८०, शुक्रवार
Image

बाहुनडाँगी, १ भदौ । सानो लगानी जुटाएर सिमसार खेतको पानीको मुहानलाई धार्मिक सौन्दर्यकरण गर्दा मेचीनगर वडा नं. १ हिलेधापमा आकर्षक पर्यटकीय स्थल निर्माण भएको छ ।

हिउँद बर्खै कलकल बगिरहने हिलेधाप सिमसारको मुहानलाई संरक्षण गरेर नागधारा र नागदेवीको मन्दिर बनाउँदा सो स्थान धार्मिक क्षेत्रमा परिणत भएको हो ।

स्थानीयबासीले सिमसारलाई पर्यटकीय स्थल बनाउने परियोजना अघि सारेपछि मेचीनगर वडा नं. १ ले रु. पाँच लाख बजेट बिनियोजन गर्यो । मुहानको पानी पानीलाई पोखरीमा संकलन गरेर नागदेवीको कलात्मक ४९ धारा निर्माण गरियो र नजिकै मनसा नागदेवीको मन्दिर निर्माण गरियो । मन्दिर र धारा निर्माण भए लगत्तै सो स्थल ‘मनसा नागदेवी धार्मिक क्षेत्र’को रुपमा प्रसिद्ध भएको सो धार्मिक क्षेत्रको व्यवस्थापन समितिका अध्यक्ष महिन्द्र मल्लले बताउनुभयो ।

मेचीनगर–१ को वडा कार्यालयले दिएको रु. पाँच लाख, मेचीनगर नगरपालिकाको रु. २५ हजार र स्थानीयबासीको सहयोगबाट नयाँ धार्मिक पर्यटकीय क्षेत्रको निर्माण भएको उहाँले बताउनुभयो । हाल नागदेवीको मन्दिरमा पूजाअर्चना गर्न र ४९ धारामा पितृमोक्षका लागि नुहाउन आउने भक्तजनको भीड लाग्न थालेको छ ।

मेचीनगर नगरपालिकाको प्रशासनिक केन्द्र इटाभट्टास्थित पूर्वपश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तर साविक बाहुनडाँगी क्षेत्रमा रहेको सो क्षेत्र वरपर श्रीकृष्णथुम्की, एक सय आठ शिवलिङ्ग, मिनी माउन्टेन पिकनिक स्पट, समावेशी गुरुकुलजस्ता धार्मिक एवम् पर्यटकीय आकर्षणका अरु स्थानहरु समेत छन् ।

आधा दर्जनभन्दा बढी पर्यटकीय स्थल केही किलोमिटर वरपर छरिएर रहेको हुँदा स्थानीय टेम्पो लगायतका साना सवारी साधनहरुले प्रति पर्यटक रु. तीन सय भाडा लिएर सबै धार्मिक स्थलको अवलोकन गराउने सुविधा मिलाएका छन् । 

“पहिले यहाँ हिलेधाप नामले चिनिने मास्तिर पानीको मुहान र तलतिर खेती थियो,” मन्दिर तथा धारा व्यवस्थापन समितिका अध्यक्ष मल्लले भन्नुभयो–“मुहानमा प्रशस्त माछा हुन्थे । माछा लगायतका जलचरहरु मासिदै गएपछि संरक्षण गर्ने र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यो ठाउँलाई धार्मिक दृष्टिले विकास गरिएको हो ।”

उहाँका अनुसार स्थानीय एक व्यक्तिले मुहानको माछा घरमा ल्याउँदा परिवारका सदस्य विरामी परेको र धामीले त्यो माछा मुहानमै लगेर छाडिदिए मात्र बिरामी निको हुने बताएको किंबदन्ती रहेको छ । धामीको कुरा पत्याएर माछालाई मुहानमै छाडिदिए पछि ती परिवारका सबै सदस्य स्वस्थ भएको हुँदा मुहानमा नागदेवीको शक्ति रहेको स्थानीयले विश्वास गर्दै आएका छन् । अहिले सोही ठाउँमा मनसा नागदेवीको मन्दिर निर्माण गरिएको मल्लले बताउनुभयो ।

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले हिलेधाप सिमसार क्षेत्रमा मनसा नागदेवीको मन्दिरसहित ४९ धारा निर्माण गरिएको पूर्व वडा सदस्य डिकेन्द्र थापाले बताउनुभयो । मन्दिर र धारा निर्माणका लागि थापाको परिवारले समेत जग्गा दान दिएको छ । हाल मन्दिर र धारा निर्माण भएको क्षेत्रमा स्थानीयले तीन कठ्ठा जग्गा दान गरिसकेका छन् ।

सो स्थानमा विभिन्न दाताहरुले पितृमोक्षको कामना गरेर ४९ धारा निर्माणमा दातहरुले एक धारा बराबार रु. दश हजार सहयोग गरेका छन् । होटल हिकोला हेरिटेजका सञ्चालक तथा साहित्यकार देवीभक्त श्रेष्ठले पाँच वटा धारा एक्लै निर्माण गरिदिनुभएको बताउनुभयो । 

धारा निर्माणकर्ताहरु झापा, धनकुटा र सुनसरी जिल्लाका धेरै छन् । दाताको पितृको नाम धाराको मुन्तिरको भागमा अंकित गरिएको छ ।

हिन्दू र बौद्ध धर्मालम्बीहरुलाई लक्षित गरेर ४९ धारा बनाइएको अध्यक्ष मल्लले बताउनुभयो । उहाँका अनुसार हिन्दु धर्मका अनुयायीहरुले पितृको कार्य ४५ दिनमा गर्ने र बौद्ध धर्मका अनुयायीहरुले ४९ दिनमा गर्ने हुँदा यसैलाई आधार मानेर ४९ धारा निर्माण गरिएको हो । हिन्दु र बौद्धमार्गीहरु सो क्षेत्रमा पितृमोक्षका लागि आउने गरेका छन् ।

समितिले धार्मिक क्षेत्रको प्रचार प्रसारका लागि नाग पञ्चमीको अवसर पारेर भदौ २ गतेदेखि त्रिदिवशीय धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने जनाएको छ । भदौ ४ गते नाग पञ्चमीमा नागको पूजा आराधना र युवा पण्डित प्रशान्त न्यौपानेको व्यासकत्वमा आध्यात्मिक कथा प्रवचन हुने भएको छ ।

धार्मिक पर्यटनका हिसावले मेचीनगर–१ को यो स्थान महत्वपूर्ण रहेको वडाध्यक्ष रामकुमार राईले बताउनुभयो । उहाँले कृष्णथुम्की, १०८ शिवलिङ, मिनी माउण्टेन, समावेशी गुरुकुलजस्ता धार्मिक पर्यटकीय क्षेत्रसँगै यो स्थानसम्मको एकैपटक अवलोकन भ्रमण गर्न सकिने बताउनुभयो । उहाँले मनसा नागदेवीको मन्दिर र ४९ धाराको निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको ठूलो संख्या आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।