४ असोज २०८१, शुक्रवार

प्रहरीले भन्यो : पुरानो रीसइबीका कारण झड्केलो दाजुको हत्या

२ भदौ २०८०, शनिवार
Image

मेचीनगर, २ भदौ । मेचीनगर–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा मृतककै झड्केलो दाजुहरु संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

किसानको हत्यामा ४८ बर्षीय सुनरसी किसान र ५६ बर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।

दुबै अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । आरोपित दुबै मृतकको नाताले झड्केलो दाजु पर्छन् ।

गत वुधवार साँझ हराएका किसानको शब विहीवार विहान घर नजिकैको खोल्सीमा झारजंगलले छोपछाप पारेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रहरीले पोस्टमार्टम जाँचका लागि शबलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो भने घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो ।

अभियुक्तद्वयले रीसइबीका कारण सुन्दर किसानको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।

प्रहरी हिरासतमा रहेका दुबै अभियुक्तलाई कत्र्तव्य ज्यानको अभियोगमा कानूनी कार्वाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट वारदातमा प्रयोग भएको धारिलो फलामको सिकल र खन्ती प्रहरीले बरामद गरेको छ ।

घटना भएको दिन सुन्दर किसान साँझपख नजिकैको विद्योदय आधारभूत विद्यालयमा फुटवल हेर्न भनी घरबाट निस्केका थिए । घर फर्किनु अघि अभियुक्तहरुले नियन्त्रणमा लिएर किसानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना यसरी भएको थियो 

प्रहरीका अनुसार सुन्दर किसान बुधवार साँझ फुटबल हेर्न विद्योदय आधारभूत विद्यालयको मैदानमा गएका थिए । त्यतैबाट उनी नजिकैको रक्सी पसलमा पुगे । रक्सी खाने क्रममा रातिको आठ बज्न लागिसकेको थियो ।

सुन्दर रक्सी पसलमा भएको उनका झड्केला दाजुहरुले थाहा पाएका थिए । जग्गा सम्बन्धी बाबुको पालादेखिको रीसइबी पनि थियो । 

त्यही रीस साध्नका लागि आरोपितहरुले सुनियोजित रुपमा बाटो ढुकेर बस्ने र आएपछि हत्या गर्ने योजना बनाए । आरोपितहरुले सिकल र फलामे रड समेत साथमा ल्याएका थिए ।

अन्दाजी राति आठ बजेतिर सुन्दर किसान त्यही बाटो भएर घरतिर लागे, जुन बाटोमा उनका झड्केलो दाजुहरु हत्या योजनाका साथ ढुकेर बसेका थिए ।

सुन्दरलाई झगडा गर्ने निहुँमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेपछि शबलाई नजिकको खोल्सीमा पुर्याए । झारपातले छोपछाप पारेर उनीहरु पनि घरतिर लागे । 

बुधवार घर नफर्किएका सुन्दर किसानको खोजी विहानैदेखि भयो । खोल्सीमा उनको विभत्स लाश भेटियो । प्रहरीले प्रदेशबाट तालिमप्राप्त कुकुर समेत ल्याएर घटनास्थलको जाँच गर्यो । 

प्रहरीले शंका गरेर १५ जनालाई नियन्त्रणमा लिदै सोधपुछ गर्यो । अन्त्यमा आरोपित दुबै जनाले प्रहरीसामू अपराध कबोल गरेका थिए ।

सुन्दर किसानका बाबुले अंश हडपेको भन्ने आरोपितहरुको रीसइबीको कारण थियो । यही निहुँमा उनीहरुबीच विगतमा झगडा हुँदै आएको पनि थियो ।