नयाँ पुस्तक
नयाँ पुस्तक
निरोज कट्टेलजीले लेखेको ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ विमोचन हुनु भन्दा अघिल्लो रात नै पढियो । लेखकको अथक मेहनतले संकलन गरिएका सूचनालाई मिठासपूर्ण लेखाइले पुस्तकलाई इतिहास होइन, उपन्यास जस्तो पढुँ पढुँ लाग्ने बनाइदिएको छ ।
पुस्तकमा २०२७ सालमा झापा जिल्ला कोअर्डिनेसन केन्द्र (को.के.) स्थापना भएपछि सुरु भएको ‘वर्ग सत्रु खत्तम अभियान’मा ८ जनाको हत्या भएको उल्लेख छ ।
व्यक्ति हत्या गर्नु हँुदैन भनेर को.क.का सदस्य केपी शर्मा ओलीले भने पनि आरके मैनालीहरुले यो प्रस्ताव मानेनन् । सीपी त झन् जमिनदारको हत्याबाटै मोहीहरुलाई जग्गाको हकदार बनाउन सकिन्छ भन्ने पक्षमा थिए । ओलीले व्यक्ति हत्याको विरोध गरेको ७ बर्षपछि २०३४ सालमा मात्र को.के.ले यो कुरा स्वीकार्यो । तर त्यसबेला सम्म ओली लगायत सबै नेताहरु जेल परिसकेका थिए । जमिनको असमान वितरणबाट सुरु भएको झापा विद्रोह र त्यसको सञ्चालक को.के. को विस्तारित रुप नै अहिलेको विशाल नेकपा एमाले हो ।
पुस्तकमा नक्सलबारी आन्दोलनको प्रभाव, झापा विद्रोहका भुंइँमान्छेका कथा मिहिन ढंगले उधिनेर लेखकले पुस्तकलाई रोचक बनाएका छन् । सुखानीमा हत्या गरिएका पाँचजना योद्धाहरुलाई चन्द्रगढी जेलबाट कसरी सुखानी पुर्याइयो र कस्तो अवस्थामा गोली दागेर मारियो भन्ने कुरा त्यसबेलाका प्रत्यक्षदर्शी सिपाहीको बयान पढ्दा आङ जिरिङ्ग हुन्छ । तत्कालीन विद्रोहीका तर्फबाट मारिएका ८ जनाको परिवारका कथाले पुस्तकलाई थप पठनीय बनाएको छ ।
तर सूचनाको मुख्य स्रोतका रुपमा आरके मैनाली र नरेश खरेललाई मात्र मानिएको छ । २०२९ सालमा को.के.को सचिव भइसकेका केपी ओलीका बारेमा आरकेका सूचनालाई मात्र आधार मान्दा यसले पाठकहरुमा भ्रम परेको छ । अर्कातिर झापा विद्रोहको पुस्तक लेख्दैगर्दा त्यस विद्रोहका बिजारोपणकर्तामध्येका एक, उक्त बिद्रोहको जगमा बनेको सबभन्दा ठूलो पार्टी एमालेका अध्यक्ष र दुईपटक पूर्व प्रधानमन्त्री समेत भइसकेका केपी शर्मा ओलीसँग संवाद नगरी पुस्तकको तयारी गर्नु हुँदैनथियो । ओलीका धुरन्धर विरोधी आरकेलाई मुख्य सूचक मान्दा पुस्तकको ओझ घटेको छ । आशा छ आगामी संस्करणमा निरोजजीले यतातिर ध्यान दिनुहुनेछ ।