१२ साउन २०८१, शनिवार

एमालेको मञ्चमा देखिन छाड्यो आसनग्रहणको लर्को

६ भदौ २०८०, बुधवार
Image

विराटनगर, ६ भदौ । नेकपा एमालेले आसनग्रहण सम्बन्धी नयाँ नियम बनाएपछि पार्टीका कार्यक्रमहरु फरक देखिन थालेका छन् ।

एमालेले पार्टी र जनसंगठनहरुको कार्यक्रममा वक्ता बाहेकलाई मञ्चमा नराख्न र व्यानरमा दिवंगत तीन नेता र पार्टीका अध्यक्षको मात्र तस्वीर राख्न उर्दी जारी गरेको छ ।

विराटनगरमा भदौ ४ र ५ गते एमाले र प्रेस चौतारी नेपालको दुई वटा अलग अलग कार्यक्रम भए । त्यसमा आसनग्रहण विगतको भन्दा भिन्न देखियो । 

भदौ ४ गते होटल कञ्चनजंघामा पार्टीको कोशी प्रचार तथा प्रकाशन विभाग र भदौ ५ गते प्रेस चौतारी नेपालको कोशी प्रदेश कमिटीको प्रथम साधारणसभा भएको थियो ।

प्रचार विभागको कार्यक्रमको अध्यक्षता प्रदेशका विभगीय प्रमुख घनश्याम खतिवडाले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा पार्टीका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज रघुबीर महासेठ हुनुहुन्थ्यो ।

तर, मञ्चमा एउटा मात्र कुर्सी राखिएको थियो । जहाँ खतिवडा मात्र बस्नुभयो । प्रमुख अतिथि महासेठ दर्शक दीर्घामै बस्नुभयो भने अरु अतिथिहरु एमाले प्रचार विभागका केन्द्रीय प्रमुख राजेन्द्र गौतम, पूर्व मुख्यमन्त्री हिक्मत कार्की लगायतका अतिथिहरु समेत दर्शक दीर्घामै बस्नुभयो ।

पार्टीको जनसंगठन प्रेस चौतारी नेपालको कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा पनि फरक दृश्य देखियो । मञ्चमा सभाध्यक्षको रुपमा चौतारीको कोशी अध्यक्ष अबिजाल बिस्ट एउटा कुर्सीमा बस्नुभयो भने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरु दर्शक दीर्घामा सहभागीहरुसँगै बस्नुभयो ।

नेकपा एमालेले पार्टी र जनवर्गीय संगठनका सबैखाले कार्यक्रमहरुमा मञ्चलाई बोझिलो नबनाउन र खादामालाको ढर्रा नपार्न अन्तरपार्टी निर्देशन जारी गरेपछि पहिलोपल्ट कोशी प्रदेशस्तरीय कार्यक्रममा त्यसको कार्यान्वयन गरिएको नेकपा एमाले कोशी प्रचार तथा प्रकाशन विभागका प्रमुख घनश्याम खतिवडाले बताउनुभयो ।

विराटनगरको एमालेको कार्यक्रमको व्यानरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत राखिएको थिएन । ‘मञ्चमा धेरै नेतालाई आसनग्रहण गराउने, खादामाला एवम् व्याच लगाउने कार्यले कार्यक्रमलाई भड्किलो र बोझिलो बनाउने भएकाले पार्टीले यसलाई हटाएर छरितो बनाएको हो’–खतिवडाले भन्नुभयो ।

एमालेले आसनग्रहणको बोझिलो ढर्रा हटाए पनि वक्ताहरुको भाषणलाई भने अझै घटाउन सकेको देखिएन । प्रचार विभाग र चौतारीको कार्यक्रममा वक्ताहरुको भने लर्को नै थियो ।