२७ वैशाख २०८१, बिहिवार

मेचीनगरका गोपाल मलेसियामा वेपत्ता, खोजीका लागि आमाको अपिल

७ भदौ २०८०, बिहिवार
Image

मेचीनगर, ७ भदौ । वैदेशिक रोजगारीका लागि १८ वर्ष अघि मलेसिया गएका मेचीनगर वडा नं. ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ ।

राज ओभरसिज नामक मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया गएका थिए । मलेसिया पुगेको एक सातापछि आफुमाथि ‘गैरकानूनी कामदार’ भएको आरोप लागेको जानकारी घरमा पठाएका उनको त्यसपछिको वास्तविक अवस्था बारेमा परिवार समेत बेखबर छ ।

‘गैरकानूनी कामदार’ भएको आरोप लागेपछि घिमिरेले सम्पर्क गरेर आफु अप्ठ्यारोमा रहेको पटकपटक जानकारी दिने गरेको र बिगत ६ वर्षयता सम्पर्क समेत टुटेको उनकी आमा सानी ढकाल घिमिरेले बताउनुभयो । विदेश जाँदा १९ वर्षका घिमिरेको उमेर अहिले ३७ वर्षको पुगिसकेको छ ।

“छ वर्षदेखि छोराको कुनै खुटखबर छैन,” उहाँले भन्नुभयो–“मलेसिया पुगेको सात–आठ दिनमै ‘इलिगल भएको आरोप लगायो आमा’ भनेर फोन गरेको थियो । अहिले मेरो छोरा जे जस्तो अवस्थामा भए पनि खोजी गरिदिनु पर्यो ।”

वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको कुनै गल्तीका कारण ‘गैरकानूनी’ कामदारको आरोपमा घिमिरे मलेसियाको कुनै जेलमा हुनसक्ने परिवारको आशंका छ । गोपालकी आमा सानी ढकाल घिमिरेले मेनपावर कम्पनीसँग भएका विभिन्न सम्झौताका कागजपत्र र फोटो बोकेर विभिन्न निकाय र जनप्रतिनिधिको ढोका ढक्ढकाइसकेको बताउनुभयो । तैपनि कतैबाट अहिलेसम्म उद्धार एवम् खोजीको पहल नभएको उहाँको गुनासो छ ।

“वडाध्यक्षलाई भेटेँ, पुलिसलाई भेटेँ, उहाँले भन्नुभयो–“सबैले कुरा सुन्नुभयो, कागजपत्र हेर्नुभयो र हुन्छ खोजी गर्न लगाइदिउँला भन्नुहुन्छ । काम चाहिँ कसैले पनि गरिदिनु भएन ।” उहाँले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गर्नुभएको छ । 

मलेसियाको एक्सडी एसडीएन बीएचडी नामक कम्पनीमा मासिक आधारभूत ७०० आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पुर्याएको रोजगारसम्बन्धी सम्झौता पत्रबाट थाहा भएको छ ।

घिमिरेको पासपोर्ट नं. २४०१३४७ रहेको छ । रोजगार सम्बन्धी सम्झौता पत्रमा मलेसियाको क्वालालम्पुरस्थित तत्कालीन शाही नेपाली राजदूताबासले प्रमाणित गरी छाप समेत लगाएको देखिन्छ । 

श्रम तथा रोजगार प्रवर्धन विभागले २०६१ चैत ८ गते दिएको अन्तिम स्वीकृति पत्र अनुसार राज ओभरसिज प्रालिमार्फत झापाका घिमिरे लगायत २९ जना नेपाली युवा एकैखेपमा मलेसिया गएको पुष्टि भएको छ । ती सबै नेपाल कामदार मलेसियाको एक्सडी एसबी कम्पनीमा काम गर्नका लागि भनेर गएका थिए ।

घिमिरेसँगै मलेसिया गएका अन्य नेपालीहरुमा भीमबहादुर तामाङ, बिनोद लिम्बु, बुद्धबहादुर भारती, छम्मसिंह थापा, धनसिंह बिष्ट, गणेश भण्डारी, गौरी भण्डारी, गेदलाल मगर, गौरीप्रसाद थापा, गुरुराज पौडेल, लष्मणप्रसाद कहर, लोकबहादुर रानामगर, मदनसिंह बिष्ट, मनोज सुबेदी, मोहनप्रसाद खतिवडा, नवराज वस्ती, नीरबहादुर लिम्बु, ओमबहादुर ढकाल, पदमसुन्दर बुढाथोकी, पौरसिंह बिष्ट, प्रकाश भुजेल, रबिन राई, राजु गिरी, सन्तबहादुर खड्का, सुदर्शन बस्ताकोटी, सुनिल थापा, तेजबहादुर घर्ती र तीलबहादुर दाहाल रहेको वैदेशिक रोजगार विभागले जारी गरेको अन्तिम स्वीकृति पत्रमा उल्लेख छ ।