२७ वैशाख २०८१, बिहिवार

भर्खरै

मलेसियामै भेटिए गोपाल

७ भदौ २०८०, बिहिवार
Image

झापा, ७ भदौ । मलेसियामा सम्पर्कविहीन भएका मेचीनगरका ३७ वर्षीय गोपाल घिमिरे भेटिनु भएको छ ।

मलेसियाको एउटा कम्पनीमा उहाँ कार्यरत रहेको पत्तो लागेको छ । आज दिउँसो ४ बजेतिर गोपालसँग उहाँकी आमा सानी घिमिरेको फोन सम्पर्क गराउने सोही कम्पनीमा कार्यरत गोपालका साथी प्रताप थापाले जानकारी दिनु भएको छ ।

यसरी भेटिए गोपाल

गोपाल १८ वर्ष अघि मलेसिया गएका थिए । बिगत ६ वर्षदेखि परिवारसँग सम्पर्क टुटेको थियो । उहाँकी आमा सानी घिमिरेले वुधवार प्रेस क्वल मेचीनगरमा पत्रकार सम्मेलन गरेर छोरा खोजिदिन अपिल गर्नु भएको थियो ।

पत्रकार अर्जुन कार्कीले पत्रकार सम्मेलनको भिडियो आफ्नो फेसबुक पेजमा पोस्ट गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चासो राख्दै गोपालको खोजी अभियान सुरु गरिसकेको बताउनु भएको थियो ।

शर्माले मलेसियास्थित नेपाली दूताबास, नेपाली जनसम्पर्क समिति लगायतका संस्थामा सम्पर्क गर्नु भएको थियो । सोही आधारमा मलेसियाको दूतावासले समेत सो भिडियो आफ्नो पेजमा पोस्ट गरेर खोजीका लागि सघाएको बताइएको छ ।

सोही आधारमा हाल गोपालसँगै मलेसियामा काम गर्दै आएका पोखराका प्रताप थापाले उक्त भिडियो हेर्नुभयो । त्यसपछि उहाँले पत्रकार कार्कीलाई सम्पर्क गरी गोपाल आफुसँगै कम्पनीमा कार्यरत रहेको जानकारी दिनुभयो ।

पत्रकार कार्कीका अनुसार आजै अपरान्ह ४ बजेतिर प्रतापमार्फत गोपाल र उहाँकी आमा सानीको फोन सम्पर्क गराइने भएको छ ।

कार्कीले गोपाल भेटिएको खबर उहाँकी आमा सानीलाई पुर्याइसक्नु भएको छ । ‘मैले गोपाल भेटियो भनेर उहाँकी आमालाई सुनाएँ,’ पत्रकार कार्कीले भन्नुभयो–‘उहाँ खुशीले गद्गद् हुनुभएको छ । खुशीले उहाँका आँखाबाट आँशु झरेका थिए ।’