३ असोज २०८१, बिहिवार

बाइक चेकजाँच गर्दा इन्स्पेक्टरमाथि बञ्चरो प्रहार

७ भदौ २०८०, बिहिवार
Image

दुधे ७ भदौ । ब्राउन सुगरले लठ्ठिएका एक युवाले सवारी चेकजाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवाललाई बञ्चरोले हानेर घाइते बनाएका छन् ।

घटना आज साँझ ७ बजेको हो । पूर्वपश्चिम राजमार्गको झरना खोला नजिकै प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना सहायक प्रहरी निरीक्षक ड्युटीमा थिए । 

तीन जना चढेको एउटा मोटरसाइकललाई रोकेर सोधपुछ गर्दैगर्दा ३६ वर्षीय अशोक पोखरेलले लुकाएर ल्याएको बञ्चरो निकालेर कटुवाललाई टाउको र हातमा भकाभक प्रहार गरेका थिए ।

टाउको र हातमा चोट लागेका घाइते प्रहरी निरीक्षक कटुवाललाई बीएन्डसी हस्पिटलमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

घाइतेको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ ।

प्रहरीले मे४प २७५१ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।