३ असोज २०८१, बिहिवार

धारागोला पर्यटकको आकर्षक गन्तव्य बन्दै

८ भदौ २०८०, शुक्रवार
Image

झापा, ८ भदौ । झापाकै अग्लो टाकुराको रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको “धारागोला” पर्यटकको आकर्षक गन्तव्य बनेको छ । 

आदिवासी जनजातिको बाक्लो बसोवास रहेको सो स्थानलाई पर्यटकीय स्थानको रुपमा विकास गर्न नौ बर्षअघिदेखि युवाहरु सक्रिय थिए । युवाहरुको सक्रियता र पछिल्लो समय तीनै तहका सरकारको सहयोगले धारागोला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको वडा नम्बर ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार, संघ, प्रदेश र स्थानीय सरकारको हालसम्म सो स्थानमा रु. एक करोड २० लाख खर्च भइसकेको छ । उहाँले हाल धारागोलामा पाँच तले भ्यूटावर, हरित पार्क र विभिन्न देवी देवताको आकर्षक मूर्तिहरु बनाएर सजाइएको बताउनुभयो । 

भ्यू टावर निर्माणको लामो समय वितिसकेका कारण यसको संरक्षण, सम्वर्र्धन र पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले बार्षिक रु. ६० हजार वडालाई तिर्न सर्तमा ठेक्का लगाइएको उहाँको भनाई छ । स्थानीय होटल व्यवसायी यामबहादुर लिम्बूले एक बर्षका लागि भ्यूटावर ठेक्कामा लिनु भएको उहाँले जानकराी दिनुभयो । 

“धारागोलाबाट तराईको मनोरम दृश्य हेर्न सकिन्छ”, उहाँले भन्नुभयो “ठेक्का लगाएका छौं, तर भ्यूटावरमा चढ्न पर्यटकबाट कति रकम लिने भनेर आइतबार बस्ने कार्यपालिका बैठकले मात्र निर्धारण गर्छौं ।” उहाँले यहाँ आउने पर्यटकलाई बसोवासका लागि होमस्टे सञ्चालनको तयारी भइरहेको बताउनुभयो । 

करिब दुई विघा क्षेत्रफलमा फैलिएको जग्गामा नेपाल पर्यटन मन्त्रालयबाट गत बर्ष प्राप्त रु. ५० लाख र जनश्रमदानबाट रु. १२ लाख संकलन गरेर हरित पार्क निर्माण गरिएको छ । 

मेची राजमार्ग नजिक रहेको धारागोलामा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि वि.सं. २०७१ सालमा प्रथम धारागोला महोत्सवको आयोजना समेत गरिएको थियो ।