३ असोज २०८१, बिहिवार

उपभोक्ता जागरण अभियानले मेचीनगर नगरपालिकासँग सहकार्य गर्ने

८ भदौ २०८०, शुक्रवार
Image

मेचीनगर, ८ भदौ । उपभोक्ता जागरण अभियानको मेचीनगर समितिको टोलीले आज नगरपालिका नेतृत्वसँग भेटेर नगरभित्र उपभोक्ता हक र हितका लागि क्रियाकलाप सुरु गरेको जानकारी दिएको छ ।

यही साउन २५ गते रचना घिमिरेको अध्यक्षतामा उपभोक्ता जागरण अभियानको नौ सदस्यीय नगर समिति गठन गरेको थियो । 

समितिकी अध्यक्ष घिमिरेको नेतृत्वमा अभियानको एक टोलीले नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली र खाद्य अधिकृत दिपेन्द्र कार्कीलाई नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा सामूहिक रुपमा भेटेर संस्थाको उद्देश्य र गतिविधिका बारेमा अवगत गराएको थियो ।

बजारको स्वच्छता र उपभोक्ताको संरक्षणका लागि नगरपालिकाले चाल्ने हरेक कदममा अभियानले सघाउने संस्थाकी नगर अध्यक्ष घिमिरेले सो अवसरमा जानकारी दिनुभयो ।

नगरप्रमुख बुढाथोकीले उपभोक्ता आफै जागरुक भएर हक हितका लागि अग्रसर हुनु स्वागतयोग्य भएको जनाउँदै अभियानसँग हातेमालो गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताउनुभयो ।

उपप्रमुख मीना उप्रेतीले नगरको अनुगमन समितिमा उपभोक्ता संस्थाको प्रतिनिधिलाई प्रतिनिधित्व गराउने व्यवस्था रहेको जनाउँदै अभियानका एक जना प्रतिनिधिलाई समावेश गराइने जानकारी दिनुभयो ।

सो अवसरमा संस्था सूचीकरणका लागि नगर अध्यक्ष घिमिरेले संस्थाको विधान र जिल्ला प्रशासन कार्यालय झापाबाट प्राप्त स्वीकृति पत्र नगरपालिकामा विधिवत् दर्ता गराउनु भएको थियो ।

अभियानका झापा अध्यक्ष मोहन काजी, सचिव विशाल थापा, सदस्य अर्जुन कार्की, माइती नेपालका कोशी संयोजक गोविन्द घिमिरे लगायतको सो अवसरमा उपस्थिति रहेको थियो ।