२५ भदौ २०८१, मङ्गलवार

आज के भइरहेको छ धरानमा ?

९ भदौ २०८०, शनिवार
Image

झापा, ९ भदौ । लाहुरेहरुको सहर धरान आज सुनसान छ । जताततै प्रहरी नै प्रहरी परिचालित छन् । मानिसहरु घरभित्रबाट सडकमा हिँड्न पनि असुरक्षित महसुस गरिरहेका छन् । अनेक हल्ला र अफवाह चलेको छ ।

गोरु काटेर भोज गरेको भिडियो र मन्दिर अगाडि चर्च बनेको विवादले उग्र रुप लिएपछि धरान अशान्त भएको हो । साम्प्रदायिक दंगा नहोस् भनेर आज प्रशासनले धरानमा निषेधाज्ञा जारी गर्दै सभा जुलुस गर्न प्रतिबन्ध लगाएको छ ।

हिन्दू धार्मिक संस्थाहरुले र्याली निकाल्ने घोषणा गरेका कारण दंगा नहोस् भनेर प्रशासनले निषेधाज्ञा लगाएको हो ।

सुनसरीको धरानमा जारी निषेधाज्ञा कडाई गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज मध्यरातिदेखि धरानमा लगाइएको निधेषाज्ञा कडाई गर्न ठूलो मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको हो ।

धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले निकालेको शान्ति र्यालीलाई रोक्न बाक्लो प्रहरी परिचालन गरिएको छ ।

इटहरीबाट धरान जाने सर्वसाधरण तथा आन्दोलनकारीहरुलाई रोक लगाएको छ । स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा रोकिएका छन् ।

जिल्ला प्रशासनले धरानको पानीपियादेखि निषेधाज्ञा जारी गरिएकाले याली धरानबाहिर रोकिएको हो । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केर्को यालीमा हजारौं सर्वसाधारण सहभागी छन् ।

घरबाहिर निस्किएनन् धराने

निषेधाज्ञाका कारण शनिबार धरान सुनसान देखिएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने त्रास फैलिएका कारण धरानेहरु सडकमा निस्किएका छैनन् । यसबाट धरानेहरु शानित, सहिष्णुता र साम्प्रदायिक सद्भावको पक्षमा रहेको पुष्टि हुन्छ । 

शनिबार विहानदेखि धरान प्रवेश नाकामा प्रहरीले कडाइ गरेको थियो । त्यसैले अन्य क्षेत्रबाट धरानमा प्रवेश सहज छैन । धरानकै बासिन्दा पनि घरबाहिर निस्केका छैनन् । बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

धरानमा अत्यावश्यक सेवाका बाहेक अन्य गाडीहरु चल्न बन्देज गरिएको छ । पसलहरु खुलेका छन् तर मानिसहरुलाई समूहमा हिँडडुल गर्न र भेला हुन दिइएको छैन ।

शनिबार दिउँसो धरानको मुख्य बजार क्षेत्र भानुचोक पुग्दा फाट्टफुट्टमात्र सर्वसाधारण देखिए । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

इटहरीबाट धरान प्रवेश गर्ने बाटो तरहरामा भने हिन्दु अभियन्ताहरुले प्रदर्शन गरेका छन् ।

चारपानेमै रोकिए समर्थकहरु

हिन्दू र्यालीमा भाग लिन सवारी साधन लिएर झापाबाट हिँडेका केही गाडीलाई झापाको प्रशासनले चारपानेमै विहान रोकेको छ ।

धार्मिक अगुवाहरुले नेतृत्व गरेको समूह गाडी रोकिएपछि चारपानेमै ओर्लिएका थिए । राप्रपा निकट धार्मिक संघ संस्थाले र्यालीको अगुवाई गरेको बताइएको छ ।

हिन्दू धर्मापलम्बीहरुले धरान जान नपाएपछि तरहरामै र्याली निकालेका छन् । र्यालीमा झापा र मोरङबाट गएका समर्थकहरुको सहभागिता छ ।