१७ असोज २०८१, बिहिवार

सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ

९ भदौ २०८०, शनिवार
Image

झापा, ९ भदौ  । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताउनुभएको छ ।

डेमोक्रेटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानून व्यवसायीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले अब नियुक्त हुने न्यायाधीशरुबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको समेत बताउनुभयो ।

नेपाली कांग्रेसका उपसभापति समेत रहनु भएको मन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यता अनुरुप न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

योग्य र सक्षम न्यायाधीश नियुक्तिको पक्षमा सरकार रहेको उहाँको धारणा थियो । न्यायिक क्षेत्रमा बिगतको जस्तो कमजोरी हुन नदिन न्यायाधीश नियुक्तिमा ढिलाइ नगरिने जानकारी दिनुभयो ।

सो अवसरमा झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले झापामा मुद्दाको चाप बढेको हुँदा थप न्यायाधीश आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सूरज खत्रीले न्याय क्षेत्रमा रहेका बेथिति र विसंगति हटाएर न्यायपालिकालाई स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल, केन्द्रीय सदस्य यज्ञलक्ष्मी चौलागाई लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । 

यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मीप्रसाद सिवाकोटीले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्र्रेस झापाका सभापति देउकुमार थेवे, केन्द्रीय सदस्यहरु गोमा भट्टराई, शुसिला ढकाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।