१६ वैशाख २०८१, आइतवार

ढकनी नभएको नालीमा खसेर बालिकाको मृत्यु भएपछि गाउँ नै शोकाकूल

११ भदौ २०८०, सोमवार
Image

भद्रपुर, ११ भदौ । तीन वर्षीया बालिका निर्जला सिग्देलको घर नजिकै लाश भेटिएपछि भद्रपुर–९ प्रकाशपुर शोकाकूल बनेको छ ।

निर्जला आज दिउँसो घर नजिकैको केदारेश्वर मन्दिरमा आमासँगै गएकी थिइन् । भजन सुनिरहेको बेला मन्दिर बाहिर खेलिरहेकी उनी दिउँसो १२ बजेतिर एकाएक वेपत्ता भइन् ।

कतिपयले भारतीय भिखारीले फकाएर अपरहण गरेको अनुमान गरेर प्रहरीलाई खोजतलासका लागि अनुरोध गरे । तर, प्रहरी समेत लागेर खोजी गर्दा उनको शब घरबाट ५०० मिटरको दूरीमा सडकको नालीमा तैरिइरहेको अवस्थामा फेला पर्यो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले अपराह्न ३ बजेतिर शब फेला परेको जानकारी दिनुभयो ।

बालिकाको शवलाई पोस्टमार्टम जाँचका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । ढकनी नभएको स्थानबाट नालीमा खसेर बालिकाको मृत्यु भएको हुनसक्ने घटनास्थलको प्रकृति छ ।