१६ वैशाख २०८१, आइतवार

मानव हात्ती द्वन्द्व न्यूनिकरणबारे छलफल

१२ भदौ २०८०, मङ्गलवार
Image

मेचीनगर, १२ भदौ । मेचीनगरमा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनिकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायहरु सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनिकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायहरुको बारेमा खोजी गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका पूव प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रसाई, सामुदायिक वन महासंघका झापा अध्यक्ष वेदप्रकाश भण्डारी, वर्दियाका पूर्व चिफ वार्डन तथा उज्यालो नेपालका प्रमुख रमेश थापाले मानव र हात्तीबीचको द्वन्द्व कम गर्नु पर्ने, मनविय क्षति रोक्न र बालीको वीमामा किसानलाई उत्साहित गर्न प्रेरित गर्नुपर्ने लगायतका विषयमा सुझाव राखेका थिए ।

कार्यक्रममा उज्यालो नेपालका प्रमुख थापाले हात्तीको विषयमा तयार पारेको सचेतना मुलक डकुमेन्ट्रीलाई प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा मेचीनगर–७ को मेची चरा तथा वन्यजन्तु संरक्षण समाज, वर्दियाको उज्यालो नेपाल, ग्रिन जेनेरेशन नेपाल झापा र फिस एण्ड वाइल्ड लाइफ सर्भिस अमेरिकाको सहकार्य रहेको थियो । कार्यक्रमको सहजिकरण र व्यवस्थापन समेत वडा नम्बर ११ ले गरेको थियो ।

मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले र सञ्चालन वडा नम्बर ४ का वडा सदस्य पवन बराइलीले गरेका थिए ।