१६ वैशाख २०८१, आइतवार

भारतको अरुणाचललाई समेटेर चीनले जारी गर्यो नयाँ नक्सा

१३ भदौ २०८०, बुधवार
Image

झापा, १३ भदौ । चीनले सोमवार नयाँ नक्सा जारी गरेपछि भारतमा तरंग उत्पन्न भएको छ । 

त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरेको छ ।

चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ ।

भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमण्यम स्वामीले चीनको नयाँ नक्सालाई लिएर व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘मोदीलाई भन्नुहोस् कि यदि उहाँले कुनै बाध्यताका कारण भारत माताको रक्षा गर्न सक्नुहुन्न भने कम्तीमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस् । भारतलाई झुटले बचाउन सकिँदैन । भारतले अर्को नेहरु सहन सक्दैन ।’

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको पृष्ठभूमिमा यो नक्सा जारी गरिएको हो ।

दुवै देशका नेताबीच सीमा विवादबारे समेत कुराकानी भएको थियो ।

चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै आफ्नो विरोध कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसमक्ष पुर्याइसकिएको जनाएको छ ।

भारतीय कांग्रेस सभापति मल्लिकार्जुन खड्गेले पनि चीनको दाबी आपत्तिजनक रहेको बताएका छन् ।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो ।

चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ ।

सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ ।