झापा, १३ भदौ। बिजुली चुरोट (भेप)मा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको बताइन् । महराले भने आफू यस प्रकरणमा सहजीकरणका लागि सीआईबी पुगेको दावी गरेका छन् ।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् ।
चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन् ।