३० वैशाख २०८१, आइतवार

पुस्तकालय दिवसमा विद्यार्थीसँग अन्तरक्रिया

१५ भदौ २०८०, शुक्रवार
Image

झापा, १५ भदौ । त्रिफला राष्ट्रिय पुस्तकालयले १६ औं पुस्तकालय दिवसको अवसरमा विद्यार्थीसँग शुक्रवार अन्तरक्रिया गरेको छ । 

धुलाबारीमा रहेको पुस्तकालय सभाहलमै आयोजना गरेको “पुस्तौं पुस्ताका लागि पुस्तकालय” विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले पठन संस्कृतिको विकास हुन जरुरी रहेको निस्कर्ष निकालेका हुन् । 

कार्यक्रममा पुस्तकालय महासंघ कोशीका सल्लाहकार उद्धव विष्ट, पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, पत्रकार अम्बिका भण्डारी र नगर शिक्षा अधिकृत पवित्रा ढकालले पुस्तक पढ्ने संस्कति अझै मौलाउन नसकेको धारणा व्यक्त गरेका थिए । 

उनीहरुले पुस्तकहरु पढिनकै लागि लेखिएको हुँदा पुस्तक पढ्ने संस्कृतिले बौद्धिक विकास हुने, नयाँ कुराको जानकारीसँगै व्यक्तिको व्यक्तित्वमा समेत निखार आउने बताएका थिए ।  विद्यार्थीलाई कोर्षका पुस्तकसँगै अन्य विधाका पुस्तक पढ्नका लागि उनीहरुले प्रेरित गरेका थिए । 

विद्यार्थीहरुले पुस्तकालयको अवलोकन गर्दै अध्यक्ष फलाहारीसँग यसको बारेमा जिज्ञासा राखेका थिए । उहाँले विद्यार्थीहरुलाई पुस्तकालयमा प्रत्येक शनिवार अध्ययनका लागि आउन अनुरोध गर्दै स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । 

उहाँले विद्यार्थीहरुलाई पुस्तकालयमा विभिन्न विधाका पुस्तकसँगै पत्रपत्रिका समेत गरी ५० हजार बढी पुस्तक रहेको बताउनुभयो । उहाँले दिवसकै अवसर पारेर पुस्तकालयलाई युगयुगसम्म बचाई राख्न दिनको एक रुपैयाँका दरले त्रिफलामा स्थायी कोषमा जम्मा गर्न सुरु गरेको बताउँदै सबैलाई स्वेच्छिक रुपमा रकम राख्न आह्वान गर्नुभएको छ ।

कार्यक्रमको सहजीकरण रिसब आचार्यले गर्नुभएको थियो । कार्यक्रममा नगरक्षेत्र भित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुसहित शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा कविशिरोमणि माध्यमिक विद्यालयका शिक्षक दामोदर ढुङ्गेल, पुस्तकालयकी सचिव शोभा श्रेष्ठ, राधा घिमिरेललगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।