२९ वैशाख २०८१, शनिवार

जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा

१६ भदौ २०८०, शनिवार
Image

झापा, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताउनु भएको छ । 

नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा बोल्दै उहाँले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनु पर्ने बताउनु भयो ।

“जनतामा ठूलो छटपटी छ, आक्रोश छ,” उहाँले भन्नुभयो–“जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफुलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आम आक्रोश बढिरहेको छ । यो निराशा कुराले होइन, काम र परिणामले चिरेर कांग्रेसले नै सही नेतृत्व गर्न सक्छ भन्ने सावित गर्नुपर्ने बेला आएको छ ।”

महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डहरुले सत्तामा पुगेकाहरु बदनाम भइरहेको हुँदा कांग्रेसकै कोही नेताले पनि भ्रष्टाचार गरेको रहेछ भने त्यस्तो पापको भारी पार्टीले नबोक्ने स्पष्ट पार्नुभयो । प्रमुख दलका नेताहरुले एउटाले अर्कोको भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साउने गरेको समेत उहाँको आरोप थियो ।

उहाँले नेपाली कांग्रेसलाई रुपान्तरण गर्नका लागि वि.सं. २०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावमा उम्मेद्वार छान्न आफ्नै तहका क्रियाशील सदस्यहरुले मतदान गर्ने परिपाटी बसाउनु पर्ने प्रस्ताव गर्नुभएको छ ।

आफु वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेहरुलाई मात्रै चुनावमा उम्मेद्वारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य र मतदातामा निराशा बढेको महामन्त्री थापाले दावी थियो । “माथिबाट टिकट पठाएर उम्मेद्वार बनाउने प्रथा अब बन्द हुनुपर्छ,” उहाँले भन्नुभयो–“कांग्रेस बिग्रिएकै अर्को गुटलाई बिहानदेखि बेलुकासम्म सत्तोसराप गरेर हो । पार्टीभित्र सबै क्रियाशील सदस्य भएकाले कोही ठूलो र कोही सानो भन्ने हुँदैन ।”

महामन्त्री थापाले २३ प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको स्वर्णिम कालमा मुलुकको समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाहरुबाट नभएको गुनासो गर्नुभयो । पुराना र नयाँ राजनीतिक दलहरु मुलुकको भविष्य र जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ सालमा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको टिप्पणी गर्नुभयो । सत्तामा को पुग्ने र कसरी पुग्ने मात्र चिन्ता गर्नुभन्दा कांग्रेसले देशले युवा जनशक्ति भएको अहिलेको अवसर गुमाउन नहुनेतर्फ चिन्तन गरिरहेको थापाले बताउनुभयो ।