२९ वैशाख २०८१, शनिवार

शिक्षा

इन्जिनियर पढाउन पाउने देशकै पहिलो सामुदायिक क्याम्पस बन्यो धुलाबारी

१८ भदौ २०८०, सोमवार
Image

मेचीनगर, १८ भदौ । धुलाबारी क्याम्पस नेपालमै पहिलोपल्ट इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको सम्बन्धन पाउने पहिलो सामुदायिक क्याम्पस भएको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको हो ।

क्याम्पसले आज विहान पत्रकार सम्मेलन गरी सम्बन्धन पाएको विषयमा जानकारी दिएको हो ।

देशभरमा ५६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको क्याम्पस प्रमुख पुष्प पौडेलले बताउनुभयो ।

‘समस्त मेचीनगरबासीका लागि यो साह्रै ठूलो खुशीको खबर हो,’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो–‘निरन्तरको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालय दुबैले सिभिल इन्जिनियरिङ संकायका चार वर्षे स्नातक तहको पठनपाठन गर्न सम्बन्धन दिएका छन् ।’

यही असोज ६ असोजभित्र भर्नाका आवेदन लिइने र यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङको स्नातक कक्षा (बीई)को पठनपाठन सुरु गरिने कार्यक्रम निर्देशक ई. रुद्र मैनालीले जानकारी दिनुभयो ।

मैनालीका अनुसार काउन्सिलले धुलाबारी क्याम्पसलाई बीई कक्षाका लागि ४८ सिट दिएको छ । जसमध्ये चार सिटमा क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

मेचीनगर– १० रघुबीरबाडीमा रहेको धुलाबारी क्याम्पस ७ बिगाहा क्षेत्रफलमा फैलिएको छ । सहरी भीडभाडभन्दा टाढा, शान्त र सुरक्षित वातावरण भएकाले धुलाबारी क्याम्पसको शैक्षिक वातावरणलाई कोशी प्रदेशकै उत्कृष्ट वातावरण भएको क्याम्पस मानिन्छ ।

धुलावारी क्याम्पसको स्थापना २०४८ सालमा धुलाबारी गाउँ विकास समितिका शिक्षासेवीहरुले गर्नु भएको थियो । ३२ वर्षपछि बल्ल सो क्याम्पसमा प्राविधिक धारको इन्जिनियरिङ विषयमा स्नातक तहको पठनपाठन सुरु हुन लागेको छ ।

धुलावारी क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षको चैत १४ गते र नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते इन्जिनियरिङ संकाय सञ्चालनका लागि सम्बन्धन प्रदान गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट हालसम्म १७ वटा क्याम्पसले इन्जिनियरिङ संकायको अनुमति पाएका छन् । 

धुलाबारी क्याम्पसले ठूलो मिहेनतले सिभिल इन्जिनियरिङ पढाउने अनुमति ल्याएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले बताउनुभयो । 

धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङको स्नातक तहको सम्बन्धन ल्याउनका लागि प्रतिनिधिसभाका सभामुख देबराज घिमिरे, प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा माओबादीकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य धर्मशिला चापागाईले पुर्याएको सहयोग अविस्मरणीय रहेको क्याम्पस प्रमुख पौडेलले बताउनुभयो ।