३० वैशाख २०८१, आइतवार

मेचीनगर

कर्मचारीले बेथिति बढाएको भन्दै विरोधमा उत्रिए वडाध्यक्षहरु

१९ भदौ २०८०, मङ्गलवार
Image

मेचीनगर, १९ भदौ । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व उम्लिएर सतहमै पोखिन थालेको छ ।

नगरको विकास निर्माणका योजनाहरुको भुक्तानी र नगरबासीलाई प्रदान गरिने सेवामा कर्मचारीहरुले असहयोग गरेर नगरपालिकालाई असफल बनाइरहेको जनप्रतिनिधिहरुको आरोप छ । कर्मचारीहरुबाट भने सार्वजनिक कुनै प्रतिक्रिया आएको छैन ।

सोमवार दिउँसो वडा नं. ४, १० र १३ का वडाध्यक्षहरु क्रमशः अर्जुन कार्की, नारायण खनाल र कृष्ण सिग्देलले नगरपालिकाको प्रवेशद्वारमै पत्रकार सम्मेलन गरेर कर्मचारीले असहयोग गरेर हैरान बनाएको गुनासो गर्नुभयो ।

“जनतालाई सरल र सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई धेरैपटक अनुरोध गरिसक्यौं, अब चाहिँ अतिबाट चार भइसक्यो,” वडाध्यक्ष अर्जुन कार्कीले पत्रकार सम्मेलनमा भन्नुभयो–“४८ घण्टाभित्र कर्मचारीहरु सुध्रिनु पर्यो, नत्र अब सहेर हामी बस्दैनौं ।”

उहाँले किसानहरुले वडा कार्यालयबाट सामूहिक खेती गर्दा दिइएको अनुदान समेत लेखा शाखाबाट अनेक बहानामा रोकिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा वडा नं. ४ मा सामूहिक खेती गर्दै आएकामध्ये डिल्लीप्रसाद आचार्य समेत उपस्थित हुनुहुन्थ्यो । आचार्यले चार महिनादेखि धाउँदा आफुहरुको भुक्तानी लेखा शाखाले रोकिदिएको गुनासो गर्नुभयो ।

“विहान बेलुकमा माटोसँग खेल्ने मान्छे हौं हामी,” उहाँको आक्रोशपूर्ण भनाई थियो–“कयौपल्ट भुक्तानीका लागि धाइसक्यौं, यो भएन र उ भएन भन्दै भुक्तानी रोकिएको छ । हामी सँधै काम छाडेर नगरपालिका धाउन त सक्दैनौं नि ।”

वडा नं. १० का वडाध्यक्ष नारायण खनालले नगरपालिकाले जनतालाई खुशी बनाउने गरी कुनै कामै गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँको भनाई थियो–“लेखा शाखामा कहिले अनुगमन भन्या छ, तालै लगाएको हुन्छ । दिसा पिसाब फेर्न जाँदा पनि कोठामा तालै लगाएको देखिन्छ । सेवाग्राहीहरु हप्तौंदेखि धाइरहेका हुन्छन्, कुनै मतलब नै गर्दैनन् कर्मचारीहरु ।”

आफुलाई नगरपालिका कार्यालय आउन नै मन लाग्न छाडेको जनाउँदै उहाँले केही कर्मचारीका कारण समस्या आएको हुँदा अब नसच्चिने हो भने धैर्यको बाँध टुट्ने चेतावनी दिनुभयो ।

वडा नं. १३ का वडाध्यक्ष कृष्ण सिग्देलले झुपडीमा विहान बेलुका खाने अन्न छैन, नगरपालिकामा चाहिँ करोड करोडका बजेटका कुरा गर्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो । नगरबासी र कर्मचारी र जनप्रतिनिधि कोही पनि खुशी नदेखिनु टिठलाग्दो अवस्थाको प्रमाण भएको उहाँको धारणा थियो ।

“कतिपय कर्मचारीबीच बोलचाल नै छैन,” उहाँले भन्नुभयो–“नगरपालिकामा बेथितिले हद पार गरिसकेको छ । नगरबासीले चाहे जस्तो सेवा पाएका छैनन् । कुनै विषयमा छलफल हुँदैन । मनपरी बढेको छ । खप्न नसकेपछि पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था आएको हो ।”

तीन जना वडाध्यक्षहरुले नगरपालिकाभित्र मौलाएको विकृति र बेथितिविरुद्ध अब विद्रोह सुरु गरेको बताउनु भएको छ । उहाँहरुले ‘केही कर्मचारी’बीचको भाले जुँधाइका कारण नगरपालिका बन्दी बनेको आरोप लगाउनुभयो ।

उहाँहरुले कर्मचारीहरुलाई सच्चिनका लागि अन्तिम अवसर दिएको भन्दै आठ वटा प्रश्न गर्नुभएको छ । ती प्रश्नको जवाफ ४८ घण्टाभित्र नआए विद्रोहले अर्को रुप लिने र त्यसमा नगरबासीलाई पनि सामेल गराइने चेतावनी दिनुभयो ।

भिडियो पनि हेर्नुहोस्