२९ वैशाख २०८१, शनिवार

काँकरभिट्टाका कोइला व्यवसायी दाहाल सम्पर्कविहीन

१९ भदौ २०८०, मङ्गलवार
Image

मेचीनगर, १९ भदौ । मेचीनगर–६ काँकरभिट्टा घर भएका ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल अढाई महिनादेखि सम्पर्कविहीन भएका छन् ।

उहाँकी पत्नी शोभा बुढाथोकीले आज पत्रकार सम्मेलन गरी व्यवसायी दाहालको खोजीका लागि सार्वजनिक अपिल गर्नु भएको छ ।

‘उहाँलाइ धेरै खोजी गरिसक्यौं, भेटिनु भएको छैन,’ मेची सामुदायिक सेवा केन्द्रको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा शोभाले रुँदै भन्नुभयो–‘प्रहरी पनि गुहारिसक्यौं । उहाँ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, केही पत्तो लाग्न सकेन । कृपया उहाँको खोजीमा सघाइदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’

भारतबाट कोइला नेपाल ल्याएर इँटा व्यवसायीलाई बेच्ने व्यापार गर्दै आउनु भएको व्यवसायी दाहालले अन्तिमपटक गत असार २ गते ‘म बाहिर छु’ भन्दै फोनमा पत्नी शोभासँग सम्पर्क गर्नु भएको थियो ।

व्यवसायी दाहाललाई असार ७ गते भारतको सीमावर्ती पानीटंकी बजारमा धुलाबारी निवासी दाहालकै एक साथीले भेटेका थिए । शोभाका अनुसार त्यसबेला दाहालले साथीलाई ‘घर हिँडेको’ बताएका थिए । 

दाहालका एक छोरा ४ वर्षको र छोरी १८ वर्षकी छन् । शोभाका अनुसार उहाँहरुको दिनुभन्दा लिनुपर्ने आर्थिक कारोवार धेरै रहेको छ । आफन्त, साथी र प्रहरीको सहयोगमा उहाँको खोजी कार्य जारी रहे तापनि कुनै पत्तो लाग्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले हराइरहेका दाहालको खोजी कार्य भइरहेको बताउनु भएको छ ।