३० वैशाख २०८१, आइतवार

पत्रकार निरौलालाई धम्की दिने दोषीलाई कार्वाहीको माग

१९ भदौ २०८०, मङ्गलवार
Image

झापा, १९ भदौ । कनकाई अनलाइनका सम्पादक एवम् प्रेस क्लव कनकाईका अध्यक्ष राम निरौलालाई विराटनगरका सुजन श्रेष्ठले ‘फेक फोटो’को निहुँमा धम्की दिएका छन् ।

कनकाई अनलाइनले भदौ १४ गते ब्राउन सुगरसहित झापामा पक्राउ परेका दुई व्यक्तिको समाचारसँगै फोटो प्रकाशित गरेको थियो ।

तर अज्ञात व्यक्तिले फोटोसप प्रविधिको दुरुपयोग गरेर उक्त समाचारमा विराटनगरका सुजन श्रेष्ठको फोटो जोडेर निज सुजनलाई पठाएको थियो ।

सुजनले सो फोटो ‘फेक’ हो भन्ने नबुझी पत्रकार निरौलालाई पटकपटक फोन गरेर कार्वाहीको धम्की दिएका थिए । 

‘९८६२५१५०४४ नम्बरको मोवाइलबाट फोन गरेर सुजन श्रेष्ठ नाम बताउने व्यक्तिले किन मेरो फोटो त्यसरी प्रकाशित गरेको भनेर धम्की दिए,’ पत्रकार निरौलाले भने–‘मैले होइन, अनलाइन साइट हेर्नुहोस् त्यस्तो छैन । कसैले फोटोसप गरेर तपाईलाई पठायो होला भनेर सम्झाउँदा पनि उहाँले धम्की दिन छाड्नु भएन ।’

उक्त धम्कीका कारण पत्रकार निरौलाले केही दिनदेखि मानसिक त्रासमा बस्नु परेको बताएका छन् । उनले इलाका प्रहरी कार्यालय विर्तामोडमा समेत घटना बारे जानकारी दिइसकेका छन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ झापाले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकार निरौलालाई दिइएको धम्कीको विरोध जनाएको छ ।

सचिव डिकेश लामाद्वारा जारी विज्ञप्तिमा प्रकाशित समाचारको फोटोलाई प्रविधिको दुरुपयोग गरी सञ्चारमाध्यमको बद्नाम गराउने व्यक्ति र धम्की दिने व्यक्तिको पहिचान गरी कानूनी कार्वाहीको दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।