४ जेठ २०८१, शुक्रवार

मिस युनिभर्समा मेचीनगरकी अभिलाषालाई जिताउन अपिल

२१ भदौ २०८०, बिहिवार
Image

मेचीनगर, २० भदौ । मेचीनगरकी अभिलाषा लम्साल मिस युनिभर्स नेपालको फाइनल प्रतिष्पर्धामा पुग्न सफल हुनु भएको छ ।

मेचीनगर–६ काँकरभिट्टा निवासी अभिलाषा प्रतिष्पर्धी २२ जनामध्ये अब्बल हुनुहुन्छ । यही भदौ २३ गते काठमाडौंमा प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ आयोजना हुँदैछ ।

मार्सल आर्टस् विधाको कराँते र जिमको प्रशिक्षक उहाँ किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने अभियन्ता समेत हुनुहुन्छ । उहाँले मास्टर्स तहको शिक्षा आर्जन गर्नुभएको छ ।

उहाँ इस्ट होराइजन अंग्रेजी माविका शिक्षक एवम् करातेका प्रशिक्षक अर्जुन लम्साल र मेचीनगर नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलकी जेठी छोरी हुनुहुन्छ ।

प्रेस क्लव मेचीनगरले आज इटाभट्टामा आयोजना गरेको पत्रकार सम्मेलनमा अभिलाषाका बुवा अर्जुन लम्साल, मामा देबेन्द्र खरेल र सानिमा दीपा खरेलले अत्याधिक मतदान गरी अभिलाषालाई बिजयी बनाउन सम्पूर्ण देशबासीलाई अपिल गर्नु भएको छ ।

कराते खेलमा अब्बल अभिलाषाले बाल्यकालदेखि नै धार्मिक आचरणमा रमाउने, पढाईमा विशेष ध्यान दिने र शारीरिक सुगठनका लागि रुचि दिने गरेको उहाँका बुवा अर्जुन लम्सालले बताउनुभयो ।

‘छोरीकै आग्रहमा सेल्फ डिफेन्स क्रिउ नामक संस्था स्थापना गरेर हामी स्कुलहरुमा गएर छात्राहरुलाई आत्मरक्षा तालिम दिन्थ्यौं,’ वुवा अर्जुन लम्सालले पत्रकार भेटघाटमा भन्नुभयो–‘आज उनी मिस युनिभर्सको प्रतिष्पर्धामा रहेकी छन् । उनले छात्राहरुलाई आत्मरक्षा तालिम दिने र मानव बेचबिखन रोक्न अभियान चलाउने विषयलाई फोकस गरेर प्रतिष्पर्धामा धारणा व्यक्त गरिरहँदा मलाई गौरव अनुभूति भइरहेको छ ।’

अभिलाषाले छात्राहरुलाई आत्मरक्षा तालिम दिने र मानव बेचबिखन रोक्ने अभियानलाई आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य भएको प्रतिष्पर्धाको क्रममा निर्णायकहरुलाई बताउने गर्नुभएको छ ।

अभिलाषालाई उहाँकी सानिमा दीपा खरेलले गौरव गर्नलायक ‘झापाको छोरी’ भएको बताउनु भएको छ । उहाँका अनुसार आयोजकले यसपालीदेखि विवाहित युवतीलाई पनि सामेल हुने अवसर दिएपछि अभिलाषा प्रतिष्पर्धामा उत्रिएकी हुन् ।

प्रतिष्पर्धी नम्बर १०३३ रहेकी अभिलाषाले आफ्नो अब्बल वक्तृत्वकला, बौद्धिकता, नृत्यकला र भावी योजनामार्फत निर्णायकहरुको समेत उच्च प्रशंसा बटुल्दै आउनु भएको छ । खल्ती एपमा गएर अभिलाषालाई भोटिङ गर्न सकिने मामा देबेन्द्र खरेलले जानकारी दिनुभएको छ ।

‘सानैदेखि तीक्ष्ण दिमागकी भाञ्जी पढाइमा सँधै अब्बल थिइन्,’ मामा एवम् चरा खोजकर्ता देबेन्द्र खरेलले पत्रकार सम्मेलनमा भन्नुभयो–‘महिलाको आत्मसुरक्षा र स्वाभिमानको रक्षाका लागि अभियान चलाउने उनको सपना छ । खल्ती एपमार्फत मत दिएर उहाँलाई जिताउन म सबैलाई आग्रह गर्दछु ।’

कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल र पत्रकार अम्बिका भण्डारीले समेत मन्तब्यको क्रममा अभिलाषालाई जिताउन भोटिङको अपिल गर्नुभएको छ ।