४ जेठ २०८१, शुक्रवार

मेचीनगरमा कांग्रेसको पहलमा भोलि सर्वदलीय बैठक

२१ भदौ २०८०, बिहिवार
Image

मेचीनगर, २१ भदौ । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व चर्किरहेको अवस्थामा शुक्रवार सर्वदलीय छलफलको आयोजना हुने भएको छ ।

धुलाबारीस्थित नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा हुने छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नेकपा एस लगायतका राजनीतिक पार्टीका नेताहरु सहभागी हुने भएका छन् ।

सर्वदलीय छलफलको पहल नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले गर्नुभएको हो । “नागरिकहरुले आफ्ना समस्या समाधान गर्ने थलो बनोस् भनेर नगरपालिकामा जनप्रतिनिधिहरु जिताएर पठाएका छन्,” बुढाथोकीले भन्नुभयो–“तर, नगरपालिकामा भइरहेका क्रियाकलापहरुले नगरबासीमा निराशा मात्र थपेको छ । यसमा नगरबासी र राजनीतिक दलहरुका तर्फबाट के सहयोग पुर्याउन सकिन्छ र नगरको विकासप्रतिको जनआकांक्षालाई पूरा गर्न सकिन्छ भनेर छलफल गरौं भनेर यो बैठकको आयोजना गरिएको हो ।”

सर्वदलीय बैठक कुनै दल वा नगरपालिकाका जनप्रतिनिधिहरुको पक्ष वा विपक्षमा लक्षित नभएको समेत उहाँले स्पष्ट पार्नु भएको छ । नगरपालिकाका जनप्रतिनिधिहरुलाई नै मदत पुगोस् भनेर सर्वदलीय बैठक राख्न लागिएको उहाँको भनाई छ ।

दुई दिन अघि मेचीनगरका तीन जना वडाध्यक्षले नगरपालिकाको प्रवेशद्वारमै पत्रकार सम्मेलनको आयोजना गरी कर्मचारीको असहयोगका कारण नगरपालिकामा विकास योजनाहरुको भुक्तानी रोकिएको र नगरबासीले सहज रुपमा सेवा सुविधा नपाएको गुनासो गर्नुभएको थियो ।

त्यसअघि नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी स्वयम्ले सार्वजनिक भाषणहरुमा केही कर्मचारीको असहयोगका कारण नगरपालिकामा सहज रुपमा काम गर्न नसकिएको गुनासो व्यक्त गर्नुभएको थियो ।

नगरपालिकामा नगरका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र वरिष्ठ प्रशासकीय अधिकृतबीच समन्वय नहुने गरेको चर्चा हुने गरेको छ । यसबाट नगरपालिकाको कामको गति सुस्त र आपसी द्वन्द्व बढ्ने गरेको जानकारहरु बताउँछन् ।

नगरपालिकाभित्र आन्तरिक बेमेल भुसभुसे आगोसरी फैलिएको अवस्थामा तीन वडाध्यक्षको कर्मचारी लक्षित विद्रोहले नगरपालिकाप्रति आम नागरिकमा निराशा उत्पन्न भएको छ । वडाध्यक्षहरुले कर्मचारीहरुलाई अल्टिमेटम दिदै भौतिक हमलामा उत्रिन बाध्य हुनेसम्मको चेतावनी दिएको अवस्था छ ।

यस्तो परिस्थितिका बीच आयोजना हुने सर्वदलीय बैठकलाई सबैले चासोपूर्वक हेरेका छन् ।