४ जेठ २०८१, शुक्रवार

बेथिति मौलाएको भन्दै पाँच दलले सचेत गराए मेचीनगरलाई

२२ भदौ २०८०, शुक्रवार
Image

मेचीनगर, २२ भदौ । मेचीनगरका क्रियाशील पाँच दलले मेचीनगर नगरपालिकामा भ्रष्टाचार, बेथिति, विकृति र बेमेल मौलाएको भन्दै त्यसलाई नियन्त्रण गरेर सुशासन कायम गर्न नगरपालिकालाई सचेत गराएका छन् ।

आज पाँचै दलका तर्फबाट यस विषयमा संयुक्त प्रेस विज्ञप्ति समेत जारी भएको छ । विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, नेकपा एकीकृत समाजबादीका क्षेत्रीय अध्यक्ष भाष्कर घिमिरे र राप्रपाका क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेलले हस्ताक्षर गर्नु भएको छ ।

दलहरुले विज्ञप्ति जारी गर्नु अघि नेपाली कांग्रेसको झापा क्षेत्र नं. १ को क्षेत्रीय कार्यालय धुलाबारीमा पत्रकार सम्मेलन समेत गरेका थिए ।

‘बिगत केही दिनदेखि मेचीनगर नगरपालिकाका गतिविधि सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र जनप्रतिनिधिहरु (वडाध्यक्ष)द्वारा भएको पत्रकार सम्मेलनमा व्यक्त प्रतिक्रियाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बिगतदेखि श्रृंखलाबद्ध रुपमा अनियमितता, ढिलासुस्ती, जनप्रतिनिधि र कर्मचारीहरुबीचको अन्तरविरोध, कर्मचारीहरुबीचकै अन्तरविरोध लगायतका बेथिति समाधान गर्न नगरपालिकाको पटकपटक ध्यानाकर्षण गराउँदा वेवास्ता गरिएको दलहरुले आरोप लगाएका छन् ।

दलहरुले नगरभित्र भइरहेको लापरवाही र बेथितिलाई टुलुटुलु हेरेर नबस्ने जनाउँदै नगर नेतृत्व समाधानतर्फ अग्रसर नभएमा जनभावनाको प्रतिनिधित्व गर्दै नगरपालिकाको गरिमा कायम राख्न आवश्यक पहल लिन बाध्य हुने चेतावनी दिएका छन् ।