४ जेठ २०८१, शुक्रवार

निजामति सेवा दिवसमा उत्कृष्ट कर्मचारीहरु सम्मानित

२२ भदौ २०८०, शुक्रवार
Image

झापा, २२ भदौ । निजामति सेवा दिवसको अवसर पारेर जिल्लामा विभिन्न कार्यालयमा रहेर उत्कृष्ट काम गर्ने कर्मचारीलाई आज सम्मान गरिएको छ । 

निजामति सेवा दिवस मूल समारोह जिल्ला समितिको आयोजना तथा कर्मचारी मिलन केन्द्रको संयोजनमा चन्द्रगढीमा आयोजित कार्यक्रममा पाँच जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो । 

सम्मानित हुनेहरुमा प्रादेशिक अस्पताल भद्रपुरका निमित्त सुपरिटेन्डेन्ट रामबाबु खड्का, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन न्यौपाने, शिवसताक्षी नगरपालिका स्वास्थ्यकर्मी शिवलाल राजवंशी र गौरीगञ्ज गाउँपालिकाका वडा सचिव एजिना भट्टराई, जिल्ला प्रशासन कार्यालय झापाका प्राविधिक होमनाथ गौतमलाई नगदसहित सम्मान गरिएको हो । 

सरकारी कार्यालयमा काम गर्ने कर्मचारीमा उत्प्रेणा जगाउन र सेवा प्रवाहमा अझ सुधार गराउने अपेक्षासहित कर्मचारीलाई नगद रु . पाँच हजारका दरले सम्मान गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । 

कार्यक्रममा वि.सं. २०७९ को एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलकी छोरी समृद्धि पोखरेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सूर्योदय टेलिभिजनका व्यवस्थापक उमाकान्त खनाललाई पनि सम्मान गरिएको छ । 

‘व्यवसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ‘सार्वजनिक सेवा प्रवाह’ शीर्षकमा कर्मचारीहरुबीच निबन्ध प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा कनकाई नगरपालिकाका वडा सचिव इन्द्र बजगाई प्रथम र आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर्मचारी विकास काफ्ले दोस्रो हुनु भएको छ । दुवै प्रतियोगीलाई पुरस्कार स्वरुप क्रमश नगद रु.  पाँच हजार  र तीन हजार प्रदान गरिएको कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष दामोदर घिमिरेले बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलगायतले सार्वजनिक सेवा प्रणालीलाई चुस्त दुरुस्त बनाएर कर्मचारीहरुले जनतालाई छिटो र छरितो ढंगबाट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । 

समितिले प्रादेशिक अस्पताल भद्रपुरका विरामीलाई आजै फलफूल वितरण समेत गरेको छ ।