४ जेठ २०८१, शुक्रवार

दुई महिनादेखि जंगलको चौतारोमा बास

२२ भदौ २०८०, शुक्रवार
Image

चारआली, २२ भदौ । पूर्वपश्चिम राजमार्गको चारआली जंगल खण्डको चौतारोमा एउटी महिला अलपत्र अवस्थामा आश्रय लिदै आउनु भएको छ ।

नाम नबताउने अन्दाजी ३५ वर्षकी ती महिला दुई महिनादेखि लुगाकपडाको पोकोसहित जंगलको चौतारोमा रातोदिन बस्दै आउनु भएको हो ।

मंगोल अनुहार भएको उहाँ नेपाली भाषा बोल्नुहुन्छ । धरानमा आफन्त भएको र भारतमा आफ्नो बसोबास रहेको उहाँको भनाई छ । तर, नाम बताउनुहुन्न । बाटो हिँड्नेहरुले दिएको खानेकुरा खाएर उहाँ बाँचिरहनु भएको छ ।

सडक मानवहरुको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले मेचीनगरमा अलपत्र व्यक्तिहरुको उद्धारका लागि सवारी साधन अभाव रहेको बताउनुहुन्छ । जंगलको चौतारोमा अलपत्र महिलालाई उद्धार गर्न खोज्दा उहाँले नमानेको बताउनुभयो ।

‘वडादेखि उद्धारका कागजपत्र बनाइसकेका छौं,’ मोहरा भन्नुहुन्छ–‘उहाँलाई इटहरीको माया घरमा लगेर राख्ने कुराकानी भएको छ । तर, ती दिदी कतै पनि जान्न भन्नुहुन्छ, यही जंगलमा बस्छु भन्नुहुन्छ ।’

उहाँ बस्दै आएको चौतारो रहेको जंगल हात्ती ओहोरदोहोर गर्ने क्षेत्र पर्दछ । जंगलमा एक्लै रात बिताउनु अनेक किसिमले जोखिमपूर्ण भएकाले उहाँको शीघ्र उद्धारको खाँचो छ ।