२८ वैशाख २०८१, शुक्रवार

प्रकृति संरक्षण

विद्यार्थीलाई चरा चिनाउने अभियान

२४ भदौ २०८०, आइतवार
Image

झापा, २४ भदौ । दुई दशक अघिसम्म तराईका अग्ला अग्ला सिमलका रुखमा प्रशस्त गुँढ बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुढ चराहरु अब लोप हुँदै गएका छन् । बासस्थान र आहारको स्रोत मासिएसँगै पूर्वी तराईमा यिनीहरु हराउँदै गएको विज्ञहरु बताउँछन् ।

यस्तै लोपोन्मूख चराहरुको संरक्षण गर्न चरा तथा बन्यजन्तु संरक्षण समाजले झापा र इलाममा अभियान सुरु गरेको छ । सुन्दर चराहरु लोप नहोउन् र लोपोन्मूख अवस्थाबाट गुज्रिरहेका चराहरुको उचित संरक्षण होस् भनेर अभियान सुरु गरिएको समाजका अध्यक्ष देबेन्द्र खरेलले बताउनुभयो । 

झापाको दक्षिणी कचनकबलदेखि इलामको रोङ गाउँपालिकाका विभिन्न विद्यालयहरुमा चरा संरक्षण सम्बन्धी जनचेतना अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो । अभियानमा फरेस्ट एक्सन नेपाल, रोङ गाउँपालिका लगायतले सहकार्य गरेका छन् ।

“हामी विद्यालयहरुमा गएर विद्यार्थी र शिक्षकहरुसँग अन्तरक्रिया गरिरहेका छौं,” खरेलले अभियान बारे जानकारी दिदै भन्नुभयो–“विद्यार्थीहरुमा प्रकृतिका अनुपम सौन्दर्य जान्ने हुटहुटी हुन्छ । त्यहीकारण वरपर रहेका चरा चिनाउने र तिनको संरक्षणमा ध्यान आकर्षित गर्ने अभियानको उद्देश्य हो ।”

झापा र इलाममा गिद्ध बिरलै मात्र देख्न पाइन्छ भने लामो चुच्चो भएको भुँडीफोर गरुढ चरा यदाकदा देखिन्छ । नेपालमा ८९२ प्रकारका चरा पाइन्छन् । ती मध्ये ४०० प्रजातिका चराको तस्वीर खरेलले खिचिसक्नु भएको छ । मेचीनगरमा रहेका ३३० प्रजातिका चराको तस्वीर उहाँले क्यामेरामा कैद गरिसकेको बताउनुभयो ।

तराईमा दुई दशक अघिसम्म खोला र बन क्षेत्रमा सिनो लुछिरहेका गिद्धका बथान र गुँढ प्रशस्त पाइने गरेको स्थानीयबासी बताउँछन् । तर अहिले इलाम र झापाको सीमा क्षेत्रको चुरे भागमा केही गिद्ध मात्र भेटिएका छन् । 

बासस्थानको रुपमा तराईमा रहेका अग्ला सिमलका रुख मासिदा र आहारको रुपमा रहेको मरेका पशुहरुमा किटनाशक विषादी मिसिएको कारण गिद्धको अस्तित्व संकटमा परेको हो । शिकारीहरुको बिगबिगी र बासस्थानको अभावले लामो चुच्चो भएको भुँडीफोर गरुढको संख्या समेत न्यून हुँदै गएको छ । 

इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिकालाई चरा संरक्षित क्षेत्र बनाउने उहाँको पहल छ । ती क्षेत्रमा उहाँ दिनहुँ चरा तथा बन्यजन्तुको संरक्षणमा रुचि राख्ने फोटोग्राफर र विषयविज्ञहरुलाई आमन्त्रित गरेर चराहरुको अनुसन्धान गरिरहनु भएको छ ।

रोङ गाउँपालिका वडा नं. ६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयमा गिद्धको संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, बन कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

नेपालकै होचो भूभागको रुपमा चिनिएको कचनकबल गाउँपालिकाको पथरिया उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई चरा तथा बन्यजन्तु संरक्षण समाजले वरपरको जलाशय र बन क्षेत्र नजिक लगेर चराहरु चिनाएको थियो । 

भद्रपुर–१ स्थित हिमाली माध्यमिक विद्यालय, बाह्रदशी गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय र मेचीनगरको दिपेन्द्र आधारभूत विद्यालयमा समेत चरा संरक्षणका विषयमा विद्यार्थीहरुलाई सचेत बनाउने कार्यक्रम भएका छन् ।

विद्यार्थीहरुलाई चरा जोगाउने अभियानमा जोडेपछि गाउँ गाउँमा ग्याटिस प्रयोग गरेर चरा मार्ने प्रवृत्ति रोकिएको अभियन्ता खरेल बताउनुहुन्छ । “चरा भनेको प्रकृतिका अनुपम उपहार हुन, यिनले विहानै चिरबिरे गीत गुञ्जाएर मानिसलाई मनोरञ्जन दिन्छन् भने विभिन्न कीरा फट्याङ्ग्रा खाइदिएर अन्न तथा फलफूल बालीलाई जोगाइदिन्छन् भनेर विद्यार्थीलाई बुझाउने गरेका छौं”–खरेलले भन्नुभयो ।

इलामको रोङमा डेढ सय वर्ष अघि लोप भइसकेको ठानिएको ‘हङ्रायो’ नामक दुर्लभ चरा खरेलले नै खोजी गरेर पत्ता लगाउनु भएको थियो । ‘हङ्रायो’ भेटिएको समाचार विश्वव्यापी चर्चाको विषय भएको थियो ।

झापाको भद्रपुर, मेचीनगर र हल्दिबारी क्षेत्रमा भुँडीफोर गरुढको सीमित बासस्थान रहेको छ भने गिद्धको एउटा पनि बासस्थान झापा र इलाममा पत्ता लागेको छैन । पूर्वपश्चिम राजमार्गको मेचीनगरस्थित धाइजन खण्डमा रहेका अग्ला कदमका रुखहरुमा भुँडीफोर गरुढको गुँढ केही वर्षयता देखिएका छन् । तिनले सडकको कोलाहलमाथि नै बच्चा कोरल्ने गरेका छन् ।

सिनो मात्र आहार गर्ने गिद्ध स्थानीय क्षेत्रमा लगभग लोपको अवस्थामा पुगिसकेको हुँदा फेरि तिनीहरुलाई आउने वातावरण बनाउन ‘भल्चर रेस्टुेरन्ट’ सञ्चालन गर्न सकिने र त्यस्तो प्रयास पश्चिम नेपालमा सम्भव भइरहेको खरेलले बताउनुभयो । 

“चरा र बन्यजन्तु मानव जातिको हजारौं वर्षदेखिका सहयात्री हुन्, यी बिनाको सुनसान धरती कल्पना गर्न सकिन्न,” चरा खोजकर्ता खरेल भन्नुहुन्छ–“मानव अतिक्रमण र लापरवाहीका कारण प्रकृतिका अनुपम रचनाको रुपमा रहेका चरा तथा बन्यजन्तुहरु नासिएर गएका छन् । यिनको संरक्षणमा खासगरी स्थानीय सरकारहरुको ध्यान जान जरुरी छ ।”