२८ वैशाख २०८१, शुक्रवार

स्वबोध आश्रमलाई सहयोग गर्दै तारापुञ्जले मनायो तीज

२४ भदौ २०८०, आइतवार
Image

झापा, २४ भदौ । तारापुञ्ज छोरी बुहारी सशक्तिकरण संस्था मेचीनगरले आज स्वबोध साधना केन्द्रका बालबालिकालाई नगद तथा खाद्यान्न सहयोग गरेर तीज मनाएको छ । 

यसपालीको तीज स्वबोध साधना केन्द्र (बाल आश्रम)लाई समर्पित गरेर मनाइएको संस्थाकी अध्यक्ष सीता पोखरेलले बताउनुभयो ।

संस्थाकी अध्यक्ष पोखरेल र कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले संस्थाको तर्फबाट स्वबोधका अध्यक्ष बालकृष्ण थपलियालाई नगद रु. पाँच हजार र दाल चामल, खानेतेल, फलफूललगायतका सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

तीजको अवसरमा संस्थाले स्वबोध साधना केन्द्रमै तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो भने बालबालिकासँगै बसेर सामूहिक रुपमा दर खाने कार्यक्रम सम्पन्न भएको थियो । 

यसैगरी, संस्थाले तिम्ल्याहा सन्तान हुर्काउँदै गरेका मेचीनगर–९ का निर्मला विष्ट रिजाल र उहाँका श्रीमान सुरेन्द्र रिजाललाई नगद रु. पाँच हजारसहित प्रशंसापत्र प्रदान गरेको छ । 

कार्यक्रमकी प्रमुख अतिथि मीना उप्रेतीले हरेक संघसंस्थामा आवद्ध महिलाहरुलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभयो । उहाँले नगरमा भएका सिर्जनशील र सीपयुक्त महिलाहरुलाई थप ऊर्जा प्रदानका गर्नका लागि नगरले नै स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । 

कार्यक्रममा नारी कल्याणकारी संस्थाका अध्यक्ष जानुका ओली, समाज सुधार महिला संघकी अध्यक्ष संगीता थापा, उपभोक्ता जागरण मञ्च मेचीनगरकी अध्यक्ष रचना घिमिरे, इन्द्रेणी साहित्य समाजकी अध्यक्ष मीरा पोखरेल, हरि प्राथमिक विद्यालयका प्रधानध्यापक रुद्र फुँयल, वडा नंं ९ की सदस्य सुष्मा कार्की डोले, सामाजिक अभियन्ता सरस्वती सिटौला, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

संस्थाकी अध्यक्ष सीता पोखरेलको अध्यक्षता र सचिव हिमा कट्टेलले सञ्चालन गरेको कार्यक्रममा तीजको गीतमा सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।