२० वैशाख २०८१, बिहिवार

प्रधानाध्यापक निरौलालाई ‘उत्कृष्ट नारी सम्मान’

२८ भदौ २०८०, बिहिवार
Image

मेचीनगर, २८ भदौ । बाहुनडाँगी जेसीजको ‘उत्कृष्ट नारी सम्मान’ दिपेन्द्र आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ता निरौलालाई प्रदान गरिएको छ । 

बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर पारेर मंगलवार निरौलालाई नगद रु. ५ हजार १ सय, दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो । 

शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट निरौलालाई सम्मान गरिएको हो । 

कार्यक्रममा २०७९ सालको एसइइमा साविक बाहुनडाँगी गाविसबाट उत्कृष्ट नतिजा ल्याउने छात्रातर्फ मेची जनसाधारण माविकी रिस्ता नेपाल र छात्रतर्फ पनि सोही विद्यालयका किस्मत दाहाललाई नगदसहित सम्मान गरिएको थियो । जेसीज सप्ताहमा भएका कार्यक्रमहरुको उत्कृट संयोजकको अवार्ड सचिव शुष्मा मिश्रलाई प्रदान गरिएको थियो । 

मूल कार्यक्रम संयोजक सामुल राया, कार्यक्रम संयोजकहरु सुस्मिता खतिवडा, शुष्मा मिश्र, विदात गिरी, सागर भारती, किरण गौतम, चित्रबहादुर श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

जेसीजको मेचीनगर स्तरीय साँस्कृतिक कार्यक्रममा पुरस्कारको सौजन्य गर्न रितिका डेरी उद्योग, व्यवसायी समिर राई र बद्री निरौलालाई पनि सम्मान गरिएको थियो ।

शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्व तथा प्रदेश सभा सदस्य गोपाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्षहरु स्वस्तिका आचार्य, भिमबहादुर कुँवर, बिरबहादुर बेगा, सम्मानित व्यक्ति शान्ता निरौला, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, शाखाका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तानलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

मूल कार्यक्रम संयोजक सामुल रायाले स्वागत, कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडाले आस्थापाठ र सचिव सुष्मा मिश्रले मिसन भिजन गरेको कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चम्लागाईले गर्नु भएको जेसिजका बोर्ड अफ डाइरेक्टर देबु बानियाँले बताउनुभयो ।