२० वैशाख २०८१, बिहिवार

लिङ्देनको प्रश्न–‘दशैं हिन्दूको मात्र भए भारतमा अक्षताको टिका किन नलगाएको त ?

२९ भदौ २०८०, शुक्रवार
Image

मेचीनगर, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीज र दशैं जनजाति लगायत सबै नेपालीको साझा पर्व भएको बताउनु भएको छ । 

‘हिन्दूहरुको मात्र चाड भएको भए सबैभन्दा बढी हिन्दू बसोबास गर्ने भारतमा अक्षताको टिका लगाएर दशैं मनाउनु पर्ने हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहनु भएको लिङ्देनले भन्नुभयो–‘किन नेपालीहरुले मात्र निधारमा रातो टिका लगाएर दशैं मनाउँछन् ? किनभने यो कुनै धर्म र जात विशेषको चाड होइन, जनजाति लगायत सबै नेपालीको साझा पर्व हो ।’

हिन्दू र बाहुन क्षेत्रीको मात्र चाड हो भनेर दुष्प्रचार हुने गरेकोमा आपत्ति प्रकट गर्दै उहाँले सदियौंदेखि सबै जातजाति र धर्म मान्ने नेपालीले दशैं र तीज उल्लासका साथ मनाउने गरेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरले आज धुलाबारीमा आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो  । 

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरकी अध्यक्ष अस्मिता खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद सविना बजगाई, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, संगठनकी जिल्ला अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व शिक्षक एवम् उपभोक्ता जागरण अभियान मेचीनगरकी कोषाध्यक्ष मीरा काफ्ले, समाजसेवी महावीर गोयल, अग्रज महिला नेतृ माया गुरुङ, खड्गकुमारी कट्टेल लगायतलाई सम्मान गरिएको थियो । सहभागीहरु सबैलाई तीजको गीतमा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो ।