२० वैशाख २०८१, बिहिवार

महामन्त्री शर्मा भन्नुहुन्छ–‘फायल मात्र होइन, फायर खोल्नुपर्छ’

३० भदौ २०८०, शनिवार
Image

मेचीनगर, ३० भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फायर खोल्न सरकारलाई सुझाव दिनु भएको छ ।

गृह क्षेत्र झापा क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फायल मात्र खोलेको बताउनुभयो । 

‘भ्रष्टाचारको फायल मात्र होइन,’ उहाँको भनाई थियो–‘फायर नै खोलिनु पर्छ ।” वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको काममा कांग्रेसको समर्थन रहने बताउनुभयो । 

उहाँले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्नुभएको छ । 

‘प्रस्तावित विधेयकसच्याएर ल्याउने सल्लाह भएको थियो,’ उहाँले भन्नुभयो–‘म पनि शिक्षकको छोरा हुँ, समस्या बुझेको छु, प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ ।’ 

सो कार्यक्रम नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सभापति देउमान थेवे, कोशी प्रदेश सांसद गोपाल तामाङ, कोशी प्रदेश सदस्य विमल आचार्य, कांग्रस झापाका उपसभापति केशवराज पाण्डे, कांग्रेस झापाका पूर्वउपसभापति राम कट्टेल, मेचीनगर सभापति सुवेश पनेरु, बुद्धशान्ति गाउँ सभापति चक्र शेर्मा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सुझाव सहित पारित भएको थियो । १९ जना सहभागीले आआफ्नो सुझाव राखेका थिए । सम्मेलनमा क्षेत्रीय सचिवद्वय गुणराज भट्टराई, सुरेन्द्र बुढाथोकी, झापा १ प्रदेश क सभापति हरि बुढाथोकीले क्षेत्रमा पार्टीको सांगठनिक अवस्था, आफूहरूले जिम्मेवारी सम्हालेपछिका कामको चर्चा गरेका थिए ।