२० वैशाख २०८१, बिहिवार

बाँचुन्जेल पद ओगट्ने प्रवृत्ति तोड्न चाहन्छु : ओली

३० भदौ २०८०, शनिवार
Image

झापा, ३० भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताउनु भएको छ । अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पार्नुभयो । 

शनिबार भक्तपुरमा ‘एड टक्स’ नाम संस्थाद्वारा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको समेत बताए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्माले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । 

कार्यक्रममा ओलीले भन्नुभयो–‘अब २० वर्षसम्म मेरो अवसेन्स हुँदै हुँदैन । पहिले म अलि बिरामी थिएँ । मैले धेरै पटक अपरेसन गर्नुपर्यो । २ पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्यो । अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ । कुनै प्रकारको समस्या छैन । अर्को कुरा अहिले पनि मेरो बुबा लगभग म जत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै म जति नै तगडा हुनुहुन्छ भने, अहिले पनि २÷४ किलोमिटर मेरो बुबा नै हिँड्नुहुन्छ भने मेरो बुबाले लौरो टेक्नुहुन्न अहिले पनि । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु अब । तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु सक्रिय रहेर । एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यकता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस् । बोल्न सकोस् कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने । त्यो प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई चाहिँ मैले सचेतनापूर्वक तोड्न चाहन्छु । आफू सक्रिय रहँदारहँदै कार्यभार अरूलाई सुम्पिएर सहयोग गर्ने देश चलाउनका लागि । अब २० वर्षपछि नेपाल हामी नेपालको दुर्दशाको, नेपालको दूर दिनको अन्तिम किस्तामा छौँ । यो अहिलेको दुर्दशा, दूरबिन भनेको नेपालको अन्तिम दूरबिन हो । यसभन्दा पछि यस्तो दूरबिन देख्नुपर्दैन । आज विकास निर्माणको चर्चा छैन । उत्पादन बढेको छैन, घटेको छ । विकास निर्माण भएको छैन, ठप्प छ । सुशासन होइन, कुशासन छ । आर्थिक स्वच्छता, पारदर्शिता होइन, तस्करी, कमिशनखोरी, भ्रष्टाचारीको बिगबिगी छ ।’

एमाले अध्यक्ष ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने बताए । उनले आफूलाई देश र जनताप्रति माया गर्ने इमानदार राजनीतिकर्मीको रूपमा बुझिदिन पनि आग्रह गरे । 

ओलीले भने, ‘मेरा केही असफलताहरू छन् । मैले नेपालबिरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकिराखेको छैन । तपाईहरुले ती षड्यन्त्रहरूलाई पराजित गर्नुपर्दछ । र, नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधीन, आफ्नो भूगोलको बिलकुलै रक्षा गर्न सक्ने र राष्ट्रिय हितको रक्षा गर्न सक्ने र राष्ट्रिय स्वाभिमानको झण्डामाथि उठाउन सक्ने हुनुपर्दछ । म तपाईँहरूसँग त्यो अपेक्षा गर्दछु । त्यसैले म आफूलाई अब्बल राजनीतिज्ञ त भन्न सक्दिन आफूलाई । यति चाहिँ हो–म इमानका साथ काम गर्छु । इमानदार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति  कुनै हिसाबले आफ्नो बनाउनु हुन्न भन्ने मान्यता राख्दछु ।’

कार्यक्रममा सहजकर्ता स्वीकृति शर्माले ओलीलाई कस्ता गीत मन पर्छ भनी सोध्नु भएको थियो । जवाफमा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मन पर्ने बताउनुभयो । ओलीले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुसी भएको प्रतिक्रिया समेत दिनु भएको थियो ।

सहजकर्ता शर्माले मन परेको गीत गाइदिन ओलीलाई आग्रह गर्नुभएको थियो । तर, ओलीले स्वीकृतिको जस्तो मीठो स्वर आफुसँग नभएको प्रतिक्रिया दिएर पन्छिनुभयो ।