२४ वैशाख २०८१, सोमवार

ऋषि पञ्चमी र महिनावारी

२ असोज २०८०, मङ्गलवार
Image

आज ऋषि पन्चमी, हिन्दु धर्मालम्बी ब्राह्मण,क्षेत्री र पहाडे मूलका दलित महिलाहरुले प्रमुख प्राथमिकताका साथ मनाउने गर्छन् । बिशेषतः यो दिन महिनावारी हुँदा छुवाछुत भएको पाप कटाउनका लागि नदीमा गएर प्रत्येक अंग धोइ पखाली बिधी बिधान पुरा गरेर पूजा गरिन्छ । म पनि यो ब्रत धेरै पटक बसेकी छु । त्यो बेला दतिउन खोज्ने, केलाउने गन्ने चटारो हुन्थ्यो । अमला,वर पिपल,तुलसाको फेदको माटो हलोको टुंडोको माटो, पिना, गाई भैंसीको गोबर चाहिन्थ्यो । त्यति मात्र होइन हात्तीको पाइलाको माटो पनि चाहिन्थ्यो । जो सहजै उपलव्ध हुन्नथ्यो । त्यो चाहिँ कसै कसैले घरमा पोको पारेर राखेका हुन्थे र माग्न जाँदा वचन लगाउँदै भए पनि दिन्थे । पिपलको फेदमा धेरै जना मिलेर तीन सहस्र धारामा स्नान गर्नुपर्ने बाध्यतालाई टाउकोमा चाल्नी राखेर लोहोटाले पानी खन्याइन्थ्यो । यी सब सामाग्रीहरु कहाँ कहाँ र कुन अंगमा प्रयोग गरेर धुनुपर्छ भन्ने कुरा छेउमा बसेर आमाले सिकाउनु हुन्थ्यो ।

पहिलो पटक आमासंग बस्नु पर्छ भन्ने मान्यता त्यसैकारण रहेको होला । १४ बर्षको उमेरमा पहिलो पटक महिनावारी भएको ६ महिना पछि यो ब्रत बसेकी थिएँ ।२५ बर्षसम्म लगातार यो ब्रत बसेँ । मैले छोइछाइ गरेर लाग्ने पाप पखालियो पखालिएन थाहा छैन । कस्तो पाप लाग्थ्यो र पखालिंदा कस्तो हुन्छ भन्ने पनि थाहा छैन । एकदिन हिम्मत जुटाएर आमालाई सोधेँ, “आमा यो अवस्थामा छोइछाइ गरेमा कस्तो पाप लाग्छ ?” आमाले एउटा कथा सुनाउँदै भन्नुभयो ,“मृत्यु पश्चात् कुकुर बिरालो जस्ता पशुको रुपमा जन्म लिनु पर्ने हुन्छ र धेरै दुख पाइन्छ रे ।” मेरो जिज्ञासु मनले सोध्यो नमरी चाहिँ पाप लाग्दैन आमा ? यो प्रश्नको उत्तर आमासँग थिएन उहाँले पण्डितलाई सोधिदिनु भयो । उहाँले पनि उत्तर दिनु भएन तर अनौठो हाँसो हाँस्नु भयो । मानौ उहाँले लुकाएको कुरा मैले थाहा पाएँ । अहिले बुझ्दा पाप र धर्म भन्ने शब्द सायद सबै किसिमका मानिसलाई सजिलै बुझाएर अनुशासनमा राख्न प्रचलनमा ल्याइएको होला  । ‘पाप लाग्छ’ भन्ने कुराले अपराध घटाउँछ र ‘धर्म हुन्छ’ भन्ने कुराले परोपकारमा वृद्धि गर्छ ।


केही बर्ष यता म यो ब्रत बस्दिन यसका कारण पाप लाग्ने र पखालिने कुरामा मलाई बिश्वास रहेन । तर म यसको बिरोधी चाहिँ  होइन । कसैले महिनावारीका बेला म त मन्दिर पनि  पस्छु भने । कसैले महिनावारी हुँदाको रगत मन्दिरभरी दलिदिन्छु भने । कोही यो अन्धबिश्वास भन्छन् । आधुनिकताको खोल ओढेकाहरुले ऋषि पन्चमीको व्रत बस्नेहरुलाइ मूर्ख ठान्छन् । जे भए पनि धर्म संस्कार कुनै कारण बिना बनेका हुँदैनन् । कालान्तरमा आएर ती कारणहरु औचित्यहिन भए होला अर्थात यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी पाएकाहरुले पुष्टि गर्न सकेनन् होला ।

महिनावारी बार्ने चलन कहिले देखि चल्यो होला ? मानिस सभ्यतामा आउनु पूर्व नै यसको चलन चलेको हुनुपर्छ । सृष्टिको सुरुवातमा मानिसहरु जंगलमा बस्थे । महिनावारीको बेला बग्ने रगतको गन्धले हिंस्रक पशुहरुले पछ्याउन  थाले महिलाहरुको ज्यान जोखिममा पर्न थाल्यो होला त्यसैबेलादेखि महिनावारीका बेला लुक्न थाले कालान्तरमा यहि संस्कार बन्यो होला । मनुस्मृति र निर्णय सिन्धूका कुरा लागू हुन थालेपछि मात्र पाप र धर्मको आधार छुट्याउँदा यो बिषय प्राथमिकताका साथ  समेटियो  । त्यसैको आधारमा महिलालाई कमजोर ठानियो र विभेद उत्पन्न भयो होला । हाम्रो धर्मसंस्कारमा अहिलेको पुस्तालाई गलत लाग्ने धेरै कुरा छन् । महिनावारीका बेला निस्कने रगत वास्तवमा शरिरबाट निस्कने फोहोर हो । दिशा, पिसाब, सिंगान, खकार जस्तै यो पनि हो । दिशा पिसाब चर्पीमा बिसर्जन गरिन्छ । सिंगान खकार कपडाले पुछेर सफा गरिन्छ । त्यस्तै यसको ब्यवस्थापन पनि सहि ढंगले गर्नु पर्छ । अहिले पो सेनिटरी प्याड बन्यो त उहिले उहिले हाम्रा हजुरामा आमाहरुका पालामा झत्तो पाउन पनि मुस्किल पथ्र्यो । रगत चुहिएर खानामा पर्न सक्थ्यो । अहिले जस्तो नल भएको धारा, ट्युबवेल इत्यादी थिएनन् । खुल्ला कुवाबाट पानी झिक्नु पथ्र्याे । त्यो बेला पानीमा रगत चुहिन्छ भनेर पानी छुन नहुने भन्ने संस्कार बस्यो । तर घर बाहिरको काम गर्नुपर्ने कडा परिश्रम गर्नु पर्ने पोषिलो खाना खान नहुने छाउपडी प्रथा जस्ता चलन गलत हुन् । अहिले महिनावारीको समयमा संभोग गर्न मिल्छ भन्ने कुरा पनि आएको छ । तर त्यो पनि गलत नै हो।महिनावारी भएपछि अब महिला गर्भवती हुन सक्छिन् भन्ने हो । प्रजनन अंगहरुको तिब्र बिकाश हुन थाल्छ । यो अवस्थामा किशोरहरु चञ्चल हुन्छन् । अनौठो व्यवहार गर्छन् । सहि गलत छुट्याउन सक्दैनन् । त्यसैले सहि मार्ग निर्देशन गर्न यस्तो नियममहरु बनेका होलान् । तिब्र बिरोधले मात्र यस्ता कुप्रथाहरु हट्दैनन् । सचेतनाले मात्र मानव बिकास हुन्छ र यस्ता प्रथाहरु परिष्कृत हुँदै जान्छन् ।

मेरो पनि मानसपटलमा त्यो बेला लगाइएका नियमहरु अक्षरस पालन गर्नु पर्छ भन्ने थियो । नियम बन्नुको कारण र बर्तमान अवस्थाको राम्रो सुझबुझ भए धर्मसंस्कार कडाइका साथ मान्नेहरुलाई र मान्दैनौं भन्ने दुबै पक्षहरूलाई चित्त बुझाउन सकिन्छ । आज पनि म महिनावारीका दिनस्म्म बार्छु । धेरै कडाइका साथ नमाने पनि खाना बनाउँदिन,पुजा पाठ गर्दिन,मन्दिर पस्दिन । मैले यो सब पाप र धर्मलाइ आधार मानेर गरेकी होइन । हुनत धेरैले धर्म संस्कार गलत भयो, अन्धबिश्वाशले दुःख पायौँ भन्दै धर्म परिवर्तन गरेका छन् । तर धर्मलाइ परिवर्तन होइन परिस्कृत गरौं । यो हाम्रो पहिचानको आधार हो । राम्रा पक्षहरुलाइ संसारभर फैलाऔं । बिशेषगरि धर्म गुरुहरुले आफ्ना संस्कार र परम्परालाई बैज्ञानिक ढंगले पुष्टि हुनेगरी व्याख्या गरौं ।

परम्परागत धर्म संस्कारमा जन्मिएकी हुर्किएकी मेरी आमाले मलाई त्यसकै निरन्तरता दिन यी सब कुरा सिकाउनु भएको थियो । त्यति मात्र होइन मेरो जीवन मेरी आमाले देखाएको बाटोमै हिंडिरहेकी छु । त्यही मार्गमा हिंड्दा आफुलाई खुशी र सुखी भएको महसुस गर्छु । आमाले गर्नु हुँदैन भनेका कार्य गरें भने आत्मग्लानी हुन्छ । म आमालाई मनको भित्री कुना र शिरको सर्बोच्च स्थानमा राखेर सम्मान गर्छु र पूजा गर्छु । महिनावारी हुँदाका चारदिन मैले मेरी आमाका नाममा समर्पण गर्ने गरेकी छु ।


लेखकको बारेमा
Image
रञ्जु प्याकुरेल

(लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी विर्तामोडकी अध्यक्ष हुनुहुन्छ ।)