२० वैशाख २०८१, बिहिवार

चोरी शिकारी नियन्त्रण गर्न युवालाई तालिम

२ असोज २०८०, मङ्गलवार
Image

चारआली, २ असोज । समुदायमा आधारित चोरी शिकारी नियन्त्रण गर्न युवामा जगारण ल्याउने उद्देश्यले झापामा आजबाट दुई दिने तालिम सुरु भएको छ । 

जिल्लाका १४ वटा सामुदायिक वनमा गतबर्ष क्यामेरा ट्यापिङ गर्दा लोपोन्मूख जनावारहरु देखिएको हुँदा यिनीहरुको संरक्षण र सम्बद्र्धन आवश्यक रहेकाले तालिमको आयोजना गरिएको जिल्ला सामुदायिक वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो । 

कम्यूनिटी कन्जरभेसन नेपालको आयोजना र महासंघको संयोजनमा हातेमालो सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा कार्यक्रम भएकोे हो । तालिममा जिल्लाका ३० वटा सामुदायिक वनका १८ बर्षदेखि ३० बर्षसम्मका युवाहरु रहेका छन् । तालिममा बाहुनडाँगीको आरआरटी र्यापिट रेस्पोन्स टीमको समेत सहभागिता रहेको छ ।  

कार्यक्रममा कम्यूनिटी कन्जरभेसन अमेरिकाकी अध्यक्ष कारा डेलान्टीले मेलेसिया, अष्ट्रेलियालगायत अन्य मुलुकको तुलनामा नेपालमा समुदायमा मिलेर काम गर्ने परम्परा राम्रो भएको बताउनुभयो । 

दुई दिनसम्म युवाहरुलाई विपद् व्यवस्थापन तालिम, गाउँघरमा देखिएका सर्पको उद्धार, संरक्षण र खोलामा करेन्ट लगाएर वा विष हालेर माछा मार्ने प्रवत्ति नियन्त्रण, चोरी शिकारीको पहिचानका साथै जैविक विविधताको संरक्षण र सम्बद्र्धन बारेमा सिकाइने कम्यूनिटी कन्जरभेसन नेपालका अध्यक्ष विरेन्द्र महत्तोले बताउनुभयो । उहाँले पहिलोपटक पूर्वमा झापामा यो तालिम आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा महासंघका अध्यक्ष भण्डारीले तालिम पश्चात जिल्लामा सामुदायमा आधारित चोरी शिकारी नियन्त्रणका लागि समिति नै गठन गरिने बताउनुभयो । समितिले खुल्ला सीमानाको फाइदा उठाएर गरिने चोरी शिकारी नियन्त्रणमा मद्दत पुग्ने उहाँको भनाई छ । 

भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मेची सब डिभिजन कार्यालयका डिल्लीराम खरेल, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण गर्न युवामा जगारणका अध्यक्ष बसन्तराज राना, वडा नम्बर १३ का वडासदस्य रविन्द्र न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।