२० वैशाख २०८१, बिहिवार

भद्रपुरमा झाडीबाट उद्धार गरिएको बच्चाको अभिभावक बन्दै विराटनगरका चिकित्सक दम्पती

२ असोज २०८०, मङ्गलवार
Image

झापा, २ असोज । भद्रपुर नगरपालिकाले सडक छेउमा वेवारिसे अवस्थामा एक महिना अघि उद्धार गरिएको बच्चाको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीले पाएका छन् ।

भद्रपुर नगरपालिकाले अभिभावकत्व दिन चाहनेहरुले दर्ता गराएका निवेदनउचर छलफल गरी चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई बच्चा दिने निर्णय गरेको हो । बच्चाको अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन दिएका थिए । 

नगरपालिकाले गत भदौ २४ गते एक सूचना जारी गरी अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो । हकदावीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दावी गर्न आमाबुवा नआएपछि अरुलाई अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो । 

भद्रपुर नगरपालिकाको बाल अधिकार समितिको आज बसेको बैठकले सूचिकृत हुन आएका मध्ये छनौट भएका विराटनगर –१३ निवासी सुनित अग्रवाल ÷अङ्कित राठी( दम्पती) लाई सम्पर्क राख्न मङ्गलवार नै सूचना जारी गरेको छ । सूचनामा छनौटमा परेका दम्पतीलाई २४ घण्टाभित्रमा सम्पर्क राख्न आह्वान गरिएको छ ।

नगर उपप्रमुख तथा स्थानीय बाल अधिकार समिति संयोजक राधा कार्कीद्वारा भदौ २५ गते जारी गरेको ७ दिन भित्र वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आउने सूचना अवधिमा ५ जनाले सूचिकृत हुन आवेदन गरेका थिए ।

भदौ १२ गते शिशुलाई वेवारिसे अवस्थामा छाडी अभिभावक बेपत्ता भए पछि नगरपालिकाले पहिलोपटक ७ दिने र दोस्रो पटक ३ दिने सूचना जारी गर्दै अभिभावकलाई हकदावीका लागि सूचना जारी गरेको थियो । हकदावीका लागि कोही पनि नआए पछि वैकल्पिक हेरचाहका लागि जारी गरिएको सूचना अनुसार प्राथमिकतामा अग्रवाल दम्पती छनोट भएको नगरपालिकाको सूचनामा जनाइएको छ ।