१६ वैशाख २०८१, आइतवार

ज्येष्ठ र विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

५ असोज २०८०, शुक्रवार
Image

झापा, ५ असोज ः हल्दिबारी गाउँपालिकाले अति विपन्न परिवार र ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । 

पालिकाले विपन्न र ८० बर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा विहीबारदेखि सुरु गरेको हो ।

ज्येष्ठ नागरिक बिरामीलाई आवत–जावतमा समस्या हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरी यो सेवा सुरु गरिएको पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्ला भित्रका अस्पतालमा लैजानु परेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानु परेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ ।

पालिकाभित्र बसोवास गर्ने गर्भवती महिलाहरुलाई प्रसुती सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

यसैगरी मृगौला रोगको कारण डायलासिस गरिरहेका बिपन्न नागरिकका लागि महिनामा एकपटक र क्यान्सर रोगको उपचाररत बिपन्न नागरिकलाई बर्षमा दुई पटक जिल्लाभित्रका अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । 

दुई महिना अघि मात्र काठमाडौँस्थित भारतीय राजदूतावासले गाउँपालिकालाई उपहार स्वरुप सो एम्बुलेन्स प्रदान गरेको हो ।