१६ वैशाख २०८१, आइतवार

महिलालाई स्वरोजगार बनाउन मेचीनगरमा सीप विकास केन्द्र

५ असोज २०८०, शुक्रवार
Image

मेचीनगर, ५ असोज । मेचीनगर नगरपालिकाले महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले रु. तीन करोड ५० लाखको लागतमा महिला सीप विकास केन्द्रको स्थापना गरेको छ । 

मेचीनगर नगरपालिका–८ मा विपन्न, लोपोन्मूख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरेर महिला सीप विकास केन्द्रको स्थापना गरेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताउनुभयो । 

उहाँले सो भवन निर्माणका लागि संघीय, प्रदेश सरकारको समेत आर्थिक सहयोग रहेको जानकारी दिनुभयो । पालिकाको नगर गौरवको योजना अन्तरगत स्थापना गरिएको केन्द्रबाट दुई महिना भित्रमा तालिम सञ्चालनको तयारी रहेको छ । 

“महिलाहरुले अब बेरोजगार र सीपविहीन हुनुपर्दैन” उहाँले भन्नुभयो, “एक हजार महिलालाई एकैपटक आफूले इच्छाएको सीप सिकाउँछौं । उहाँहरुले सीप सिकेर उत्पादन गरेका सामग्रीको नगर आफैंले बजारीकरण पनि गर्छ ।” 

उहाँले केन्द्रमा सिलाई बुनाई, टपरी बुन्ने, बाती काड्ने, पार्लरलगायत दर्जनौं सीप नगर क्षेत्रभित्रै रहेका दक्ष जनशक्तिबाट सिकाउने बताउनुभयो । उहाँले नगरका सयौं महिलाहरु आत्मनिर्भर बन्न सकेमा रोजगारीको लागि विदेशिनु नपर्ने साथै घरेलु हिंसाको घटनामा समेत कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय गीता खड्काले महिला सीप विकास केन्द्रलाई नगरपालिकाले सञ्चालन गरेपछि मेचीनगरका सयौं महिलाहरु यस कार्यक्रमबाट लावान्भित हुने विश्वास व्यक्त गर्नुभयो  । नगरपालिकाले कार्यविधि नै बनाएर महिला सीप विकास केन्द्र सञ्चालन गर्न लागेको उपप्रमुख उप्रेतीको भनाई छ । उहाँले यो केन्द्र स्थानीय सरकारको तर्फबाट सुरुवात गरिएको भए तापनि यसलाई अझ प्रभावकारी बनाएर लैजान प्रदेश र संघीय सरकारको पनि साथ र सहयोग लिने बताउनुभयो ।