१६ वैशाख २०८१, आइतवार

भानु सहकारीको साधारणसभा ः दर्जन बढी सम्मानित

५ असोज २०८०, शुक्रवार
Image

मेचीनगर, ५ असोज । भानु बहुमुखी सहकारी संस्था मेचीनगरले २२ औं बार्षिक साधारणसभाको अवसर पारेर दर्जन बढीलाई सम्मान गरेको छ । 

धुलाबारीस्थित राधास्वामीको सभाहलमा शुक्रवार आयोजित साधारणसभामा सम्मानित हुनेहरुमा असल ऋणी, बचत कर्ता, ज्येष्ठ नागरिक, कर्मचारी र बालबचतकर्मी रहनुभएको छ ।


ज्येष्ठ नागरिकद्वय प्रेमकुमारी लुईटेल र धनबहादुर प्रधानलाई नगदसहित सम्मान गरेको छ । सहकारीले बाल बचततर्फ सिमरन साह, सिवानी, परी झा, ड्रिम मेचे र सोनु साहलाई नगदसहित व्याग र सम्मान पत्रले सम्मान गरेको छ ।

यसैगरी, असल बचतकर्ताको रुपमा जुनाव अली, मनिका घोरसाईं, सन्तोष दास, असल ऋणीमा कृष्णराज भण्डारी, शम्भू शाह र देवी माया सुवेदी नगदसहित सम्मानित हुनु भएको छ । संस्थाले आर्थिक बर्ष २०७९÷०८० का उत्कृष्ट कर्मचारीको रुपमा भीमकुमारी खड्का र निर्मला सुब्बालाई समेत नगद र सम्मान पत्रले सम्मान गरेको छ । 

मेचीनगर नगरपालिकाका सामाजिक शाखा प्रमुख दिपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेची उद्योग बाणिज्य संघका सचिव कमल कोइराला, महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाकी प्रमुख मुना घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुँडालले सहकारीको बार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो । वि.सं. २०५७ सालमा २७ जना मिलेर रु. एक लाख ३५ हजार शेयर पूँजीबाट स्थापना गरेको सहकारीको हाल शेयरपूँजी रु. दुई करोड ३० लाख ५३ हजार बढी रहेको उहाँले बताउनुभयो । 

चार हजारको संख्यामा शेयर सदस्य रहेको सहकारीमा बचत र ऋण कारोवारमा महिलाको संख्या उल्लेख्य रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक बर्षमा रु. ८८ लाख ८२ हजार मुनाफ आर्जन गरेको छ । 


संस्थाले यस बर्षदेखि कर्मचारीको तलब बृद्धि १० प्रतिशतले गरेको छ भने कर्मचारीको प्रतिव्यक्ति रु सात लाखको सामूहिक दुर्घटना विमा समेत गरिदिएको छ । अध्यक्ष चुँडालले प्रस्तुत गरेको प्रतिवेदनमा भुकम्प तथा बाढी, महामारीलगायत दैवीप्रकोपको घटनामा परेका पीडितहरुलाई संस्थामार्फत बार्षिक रु. एक लाख सम्मको सहयोग गर्ने प्रस्ताव पेश भएको छ । संस्थाकी व्यवस्थापक चन्दा चुँडालले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिका संयोजक विश्वास भण्डारीले लेखाको प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले प्रतिवेदन मार्फत संस्थालाई आफ्नै भवन बनाउन, कृषि, पशुधन तथा विउविजन सम्बन्धी कार्यक्रम, तालिम चलाउन र शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गर्न सुझाव दिनुभएको छ ।