१६ वैशाख २०८१, आइतवार

डेंगु परीक्षणको नाममा ठगिए मेचीनगरवासी

६ असोज २०८०, शनिवार
Image

धुलाबारी, ६ असोज । झापाको मेचीनगरमा डेंगुका बिरामीको चाप बढेपछि निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको नाममा लुट मच्चाइरहेका छन् ।

डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा यहाँका प्रयोगशालाहरूले मनपरी शुल्क लिने गरेको रहस्य फेला परे पछि परीक्षणको नाममा लुट मच्चाईरहेको घटना बाहिर आएको हो । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा निजी अस्पताल, क्लिनिकले पनि मनपरी शुल्क लिँदै आएका छन् ।  सर्वसाधारण डेंगु परीक्षणको नाममा ठगिनु परिरहेको छ ।

डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि मेचीनगर नगरपालिकाको नगरस्तरीय अनुगमन टोलीले छड्के अनुगमन गर्दा यस्तो रहस्य बाहिर आएको नगरपालिकाले जनाएको छ ।

डेंगु महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी सेवा दिन अनुगमन टोली संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीलेले सवै स्वास्थ्य संस्था स्वास्थ्यकर्मीमा आग्रह गर्नुभएको छ ।

जनस्वास्थ्य निरीक्षक  रामप्रसाद अधिकारीका अनुसार कोशी प्रदेश प्रयोगशालाले डेंगुको परीक्षणका लागि ६ सय रुपैयाँ कायम गरेको भए पनि नगरका प्रयोगशालाहरुले जताभावी रकम लिने गरेका प्रमाण फेला परेको छ ।

टोलीले नगरको मुख्यः व्यपारिक केन्द्रविन्दु धुलावारी बजारका १० वटा पोलिक्लिनिक तथा निजी अस्पतालसहित औषधि पसलको अनुगमन गर्दा अधिकाँशले प्रदेश प्रयोगशालाले तोकेको शुल्क भन्दा २ देखि ४ सय रुपैयाँसम्म बढी रकम लिने गरेको अधिकारीले जानकारी दिनुभयो । ‘सरकारी स्वास्थ्य केन्द्रमा डेंगुको परीक्षण निःशुल्क भएपनि अत्यधिक चापले गर्दा बिरामीहरू बाहिर निजी क्लिनक तथा ल्याबतिर परीक्षण गर्न धाउन बाँध्य छन् । 

त्यसैको फाइदा उठाएर निजी क्लिनिकहरूले यही मौकामा मनपरी शुल्क असुल गरिरहेका छन् ’उहाँले भन्नुभयो ।  ‘कोशी प्रदेश प्रयोगशालाले डेंगुको परीक्षणका लागि ६ सय रुपैयाँ कायम गरेको छ’ मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक समेत रहनु भएका अधिकारीले भन्नुभयो—‘धुलावारीमा सञ्चालनमा रहेका प्रयोगशालाहरुले ६ सय देखि एकहजार रुपैयाँसम्म लिने गरेको फेला पार्यौ ।’ परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्क तोकिएको भए पनि मेचीनगरको धुलावारीमा कार्यन्वयन नभएको टोलीले जनाएको छ ।

अझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका स्रोतका अनुसार कीटको मूल्य र अन्य खर्च जोड्दा पनि ५०० रुपैयाँसम्ममा डेंगुको परीक्षण गर्न सकिने दाबी गर्छ । तर, निजी प्रयोगशालाहरूले चर्को शुल्क असुलिरहेका छन् ।

विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगुको परीक्षण शुल्क तोकेको थियो ।

मेचीनगरका प्रयोगशालाहरुलाई एकपटकलाई सचेत गराईएको अनुगमन टोली सदस्य एवम् मेचीनगर स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले बताउँनुभयो । व्यवसायीहरुले समेत अब उप्रान्त यो गल्ती नदोहोर्याउने र आजैबाट सुधार गरेर जाने प्रतिवद्घता व्यक्त गरेका छन् । गल्ती दोहोरिए व्यवसायीहलाई कानुनी कारवाही गर्ने टोलीले जनाएको छ ।

 मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कोशी प्रदेश उपाध्यक्ष सोम ओझा यसको मुल्य तोक्ने आधिकारीक निकाय नभएको बताउँनुहुन्छ । ‘ पछिल्लो समय सरकारले डेंगु परीक्षण गर्दा ६ सय रुपैयाँभन्दा बढी नलिनु भन्यो’ उहाँले भन्नुभयो—‘अन्य रगत परीक्षण गर्दा आ—आफ्नै दररेट छन् ।’ प्रयोगशालाहरुले आपूर्तिकर्ताहरुबाट कम्तिमा १९० देखि २५० रुपैयाँसम्म कीट खरिद गर्ने गरेको एकजना अनुभवी स्वास्थ्यकर्मीको दावी छ । तर, कीटको गुणस्तर देखाएर थुप्रैले बढि शुल्क लिने गरेका छन् ।

 सरकारी निकायले परीक्षण शुल्कको अनुगमन गरेर आमनागरिकलाई राहत दिनुपर्ने नभएकाले अनुगमनलाई तीब्रता दिने नगरपालिकाका खाद्य अधिकृत एवम् आर्थिक विकाश शाखा प्रमुख दीपेन्द्र कार्कीको भनाई छ ।

 निजी प्रयोगशालाले परीक्षण शुल्क  ८ देखि एकहजार  रुपैयाँसम्म लिनु गलत भएको उहााको भनाई छ । उहाँका अनुसार बिरामीलाई पीडामा थप पीडा दिनुभएन, मौका छोपेर कालोबजारी गर्नुभएन । अब नगरका प्रयोगशालाहरुमा शुल्कको सीमा तोक्न प्रक्रिया थाल्ने सम्बन्धमा छलफल सुरु गर्ने उहाँको भनाई  छ । कोरोना महामारीका बेला पनि केही ल्याब र अस्पतालले पीसीआर परीक्षण शुल्क चार गुणासम्म बढी लिएका थिए । पछि सरकारले नै शुल्क निर्धारण गरेपछि परीक्षण सहज बनेको थियो ।