१२ साउन २०८१, शनिवार

कोशीमा डेंगुबाट १७ जनाको मृत्यु, तीस हजार बढी संक्रमित

१० असोज २०८०, बुधवार
Image

झापा, १० असोज । डेंगु संक्रमणबाट कोशी प्रदेशमा हालसम्मा १७ जनाको मृत्यु भएको छ भने ३० हजार ३३० जना संक्रमित भएका छन् ।

जसमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने हजार १९४३२ जना संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईले जानकारी दिनुभयो ।

कोशी प्रदेशको १४ जिल्लामै डेंगु फैलिएको छ । उहाँका अनुसार मोरङमा चार हजार २४२ जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार ९६४ जना संक्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उहाँको भनाई छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।

गर्मी र बर्खा याममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरुमा डेंगुका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा २११, पाँचथरमा ३३८, इलाम ५३५, उदयपुर ८१६, धनकुट्टा ४३२, भोजपुरमा ३३१, संखुवासभा ८६७, ओखलढुंगा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बूमा २० जना डेंगुका बिरामी फेला परेका छन् ।

डेंगु संक्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने लगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डुेंगु संक्रमितको संख्या झन बढ्दो रहेको छ ।

आम ज्वरोभन्दा निकै तीब्र ज्वरो आउनु डेंगुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नु जस्ता लक्षणहरु डेंगुका बिरामीमा देखिन्छन् ।