३ असोज २०८१, बिहिवार

महालक्ष्मी सहकारीको शेयरपूँजी रु एक करोडभन्दा बढी

१० असोज २०८०, बुधवार
Image

धुलाबारी, १० असोज । महालक्ष्मी कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यतामा आज सम्पन्न कार्यक्रममा विभिन्न विधाका दर्जन बढीलाई सम्मान गरिएको थियो । 


सम्मानित हुनेमा सहकारीकर्मी, शिक्षासेवी, उत्कृष्ट कृषक, स्वास्थ्यकर्मीसहित, असल बचत, ऋणी र बाल बचतकर्ता रहनु भएको छ । सहकारीकर्मीका रुपमा जिल्ला संघ सहकारी संघ झापाका पूर्व अध्यक्ष हरिचरण बानियाँ, स्वाथ्यकर्मीका रुपमा चन्द्रनारायण सिंह, शिक्षाकर्मी विना दाहाल र कृषक पूर्णबहादर खड्का सम्मानित हुनुभएको हो । 

उहाँहरुलाई नगदसहित सम्मानपत्रले सम्मान प्रमुख अतिथि तामाङले सम्मान गर्नुभएको थियो । कार्यक्रममा नियमित बचतकर्ता दिपेन्द्र संग्रौला, देवकुमारी श्रेष्ठ, खुत्रुके बचतकर्ता खड्गप्रसाद भारती, निरमाया घिसिङ, बाल बचतकर्ता लक्ष्मी राजवंशी निश्चल प्याकुरेल, उत्कृष्ट ऋणीमा अधिका राजवंशी, यामप्रसाद निरौला, ज्येष्ठ नागरिकहरु मुक्तिनाथ गिरी, तुलसादेवी न्यौपाने र पेन्सन बचतकर्ता चन्द्रबहादुर राई, सीता खतिवडालाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष दुर्गा खतिवडा र लेखा समितिको प्रतिवेदन लीना भण्डारीले प्रस्तुत गर्नुभएको थियो । वि.सं. २०६५ सालमा ५४ जना शेयर सदस्यको रु ५४ हजार शेयरपूँजीबाट सुरु भएको सहकारीको हालको शेयर पूँजी रु एक करोड २९ लाख ८१ हजार एक सय रहेको अध्यक्ष खतिवडाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । 


उहाँले बैंकको पहुँचबाट टाढा रहेका साहु महाजनको मठ्ठीभित्र दबाइएका गरीब, आदिवासी, दलित, किसानहरु, पिछाडि पारिएका वर्गहरुको आर्थिक उत्थान गर्ने उद्देश्यले सहकारीको स्थापना गरेको बताउनुभयो । 

सहकारीले कृषक सदस्यहरुलाई विउविजन तथा रासायनिक मलको आपूर्ति न्यूनीकरण गर्दै प्रांगरिक मल, जैविक मल, आधुनिक तरकारी खेती, कौशी खेती, करेसाबारी व्यवस्थापन जस्ता तालिमहरुको आयोजना गरी दक्ष जनशक्ति उत्पादन गर्दै आएको अध्यक्ष खतिवडाले बताउनुभयो । 

कार्यक्रममा सम्मानित व्यक्तिहरुको तफबाट हरिचरण बानियाँ, पूर्वीद्वार बचत तथा ऋण सहकारीका अध्यक्ष विपी भट्टराई, मेची कृषक सहकारीका उपाध्यक्ष दुर्गा सापकोटा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाकी प्रमुख मुना घिमिरे, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

संस्थाकी सदस्य मञ्जु भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सहकारीकी व्यवस्थापक प्रेमुकमारी सुवेदीले गर्नुभएको थियो ।