६ जेठ २०८१, आइतवार

अन्तरपुस्ता महिलावादी सञ्जालले ज्ञापन पत्र बुझायो

१४ असोज २०८०, आइतवार
Image

धुलाबारी, १४ असोज । अन्तर पुस्ता महिलावादी सञ्जाल झापाले जिल्ला प्रशासन कार्यलय,मेचीनगर नगरपालिका तथा मेची उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएको छ । 

नेपाल मध्य आय भएका राष्ट्रमा स्तरोन्नती हुने बिषयमा विविधतामा रहेका महिलाहरुद्धारा जारी गरिएको विज्ञप्ती आज सञ्जाल रहेका महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले ति संस्थानहरुमा बुझाएका हुन ।

 नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रबाट मध्यम आय भएका राष्ट्रमा स्तरोन्नती हुने लक्ष्य राखेको उल्लेख गर्दै विज्ञप्तीमा त्यसले साना तथा मझौला उद्यमी महिलालाई पार्ने प्रभावका  बारेमा अन्यौलता रहेको बताइएको छ । 

स्तरोन्नतीका लागि राष्ट्रिय योजना आयोगले तयार गरिरहेको सहज रणनीतिक मस्यौदामाथि महिलाहरुको अर्थपूर्ण सहभागिता गराएर रणनिति बनाउन माग गरिएको संस्थाकी सदस्य राधा प्रधान कार्कीले बताउनुभयो  

कम विकसित राष्ट्रबाट मध्यम आय भएका राष्ट्रमा स्तरोन्नती हुदाँ महिला तथा सिमान्तकृत समुदायमा पर्नसक्ने नकरात्मक प्रभावलाई समेत संवोधन हुने गरि कार्यगर्न विज्ञप्तीमा आग्रह गरिएको छ । मेचीनगर लेडी जेसिस, महिला जनचेतना केन्द्र, वान नेपाल,इन्द्रेणी महिला साहित्य मञ्च लगायतका संस्थाबाट प्रतिनिधीहरु ज्ञापन पत्र लिएर पुग्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ,मेचीनगर नगरपालिकामा कार्यवाहक प्रमुख हृदयलाल राजवशीले तथा मेची उद्योग बाणिज्य संघमा उपाध्यक्ष दिनेश शाक्यले ज्ञापन पत्र बुझनुभएको थियो ।

अन्तरपुस्ता महिला वादी मञ्चले आज एकैदिन देशभरीनै ज्ञापन पत्र बुझाएको महिला जनचेतना केन्द्र मेचीनगरकी तथा संस्थाकी सदस्य प्रधानले जानकारी दिनुभयो ।