२० वैशाख २०८१, बिहिवार

दशैं विदाका दुई दिन विद्यालय खोल्ने निर्णयको प्रशंसा

१९ असोज २०८०, शुक्रवार
Image

झापा, १९ असोज । मेचीनगर नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले पूर्वनिर्धारित दशैं विदाका दुई दिन विद्यालय सञ्चालन गर्ने भएका छन् ।

नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलले गत असोज ४ र ५ गते भएको शिक्षक आन्दोलनका कारण बन्द भएको पठनपाठनको क्षतिपूर्तिस्वरुप दशैं विदा अवधिभित्रको असोज २९ र ३० गते नगरभित्रका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।

विद्यालयहरुका लागि दशैं विदा घटस्थापना अर्थात असोज २८ गतेदेखि नै सुरु हुन्छ । निजामती कर्मचारीहरुका लागि भने फुलपाती अर्थात कार्तिक ४ गतेदेखि मात्र दशैं विदा सुरु हुन्छ ।

“शिक्षक आन्दोलनका लागि पठनपाठन बन्द गरेर काठमाडौं जाँदा नै हामीले जति दिन पढाई बन्द हुन्छ, त्यति नै दिन पछि विदाका बेला पढाई सञ्चालन गर्नेछौं भनेका थियौं,” नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलले भन्नुभयो–“बाचा पूरा गर्दै हामीले दशैं विदाको दुई दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं ।”

महासंघले नगरभित्रका घटक संस्थाहरुसँग बैठक बसेर विदाको दुई दिन असोज २९ र ३० गते विद्यालय सञ्चालन गर्नका लागि नगरका विद्यालयहरुलाई परिपत्र गरिसकेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मेचीनगरमा ४२ वटा सामुदायिक विद्यालय रहेका छन् ।

नेपाल शिक्षक महासंघ कोशी प्रदेश समितिका अध्यक्ष तेजप्रसाद चौलागाईले स्थानीय तहको अनुकूलता अनुसार प्रदेशका सबै पालिकामा विदाका दुई दिन विद्यालय सञ्चालन हुने बताउनुभयो ।

चौलागाईकै अध्यक्षतामा हालै बसेको कोशी प्रदेश कार्य समितिको बैठकले शिक्षक आन्दोलनका कारण पठनपाठन बन्द भएको दुई दिनको भर्पाइस्वरुप विदाका त्यति नै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कोशी प्रदेशमै पहिलोपल्ट मेचीनगरले निर्णय कार्यान्वयनमा ल्याएको चौलागाईले बताउनुभयो ।

“हामीले यही दिन भनेर तोकेका छैनौं,” उहाँले भन्नुभयो–“आन्दोलनका कारण दुई दिन विद्यालयको पढाई प्रभावित भएको छ । स्थानीय तहको अनुकूलता मिलाएर चालू शैक्षिक सत्रभरमा विदाका दुई दिन पनि पढाई सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो ।”

मेचीनगर नगरपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले विदाका दिन पनि विद्यालय सञ्चालन गर्ने शिक्षकहरुको निर्णयको सराहना गर्नुभएको छ । “शिक्षकहरुले देशब्यापी रुपमा विद्यालय बन्द गरेर आन्दोलनमा जानु भएको सबैलाई थाहै छ,” उहाँले भन्नुभयो–“हामीले आन्दोलनमा जानुहोस् भनेर विदा दिएका थिएनौं । उहाँहरु अहिले जवाफदेही बनेर आन्दोलनका कारण पढाईमा भएको क्षतिको परिपूर्ति गर्छु भन्दै दशैं विदाका दिन पठनपाठन सञ्चालन गर्नुहुन्छ भने स्वागतयोग्य कुरा भयो ।”