२० वैशाख २०८१, बिहिवार

पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुल्हो’ वितरण

१८ असोज २०८०, बिहिवार
Image

झापा, १८ असोज । वातावरण संरक्षण केन्द्र (ईपीसी) नेपालले झापा लगायत कोशी र मधेश प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको बिकल्पको रुपमा ‘सुधारिएको चुल्हो’ वितरण गरेको छ ।

ईपीसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुल्हो वितरण गरिसकेको बताउनुभयो । 

खुला बजारमा रु. पाँच हजार मूल्य पर्ने उक्त चुल्हो विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चवापत रु. दुई सय मात्र लिएर वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

विद्युत र दाउरा दुबै प्रयोग हुने सुधारिएको चुल्हो सिंगापुरको भीएनभी एडभाइजरी नामक दातृसंस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।

थोरै दाउराले धेरै ऊर्जा दिनेगरी चुल्होको डिजाइन गरिएको र यसको प्रयोगबाट खाना पकाउने एलपी ग्यासको निर्भरता हट्ने मेचेले बताउनुभयो । वातावरण प्रदूषण न्यूनीकरणमा समेत यो प्रविधिको चुल्होले सघाउ पुग्ने भएको छ ।

मेचीनगर वडा नं. ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले वडा कार्यालयले स्थानीय चिया मजदुर र विपन्न परिवारको पहिचान गरेर इपीसीबाट प्राप्त ५०० चुल्हो सोमवार वितरण गरिसकेको र अरु माग भइरहेको बताउनुभयो ।

“थोरै दाउराले धेरै खाना पकाउन सकिने प्रविधियुक्त यो चुल्हो पाउँदा विपन्न परिवार खुशी भएका छन्,” वडाध्यक्ष ओलीले भन्नुभयो–“मुलुक आर्थिक संकटबाट गुज्रिरहेको बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्याँसको प्रयोग न्यूनीकरणमा समेत यसबाट मदत पुगेको छ ।”

दातृ संस्था इपीसीले चुल्होको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पंखा र एडप्टर बिग्रिए फेरिदिने प्रतिवद्धता जनाएको मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । चुल्होको कुनै पनि सामान नफाल्न आग्रह गर्दै ईपीसीले पुरानो चुल्होको साटो नयाँ दिने जनाएको छ । 

चिया, यातायात, प्लाइउड र कृषि श्रमिकको ठूलो संख्या रहेको मेचीनगर नगरपालिकामा २५ हजार चुल्हो वितरण गर्ने लक्ष्य लिइएको इपीसीका झापा संयोजक अमर मेचेले जानकारी दिनुभयो । चुल्हो पाउने परिवारको निष्पक्ष छनौट र वितरणका लागि ईपीसीले नगरपालिका र वडा कार्यालयसँग सहकार्य गरिरहेको छ ।

मेचीनगरको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १५ मा चुल्हो वितरण भइसकेको छ र पहिलो चरणमा निम्न वर्गीय परिवारलाई सुधारिएको चुल्हो वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि विद्युतीय इन्डक्सन चुल्हो बितरण गरिने संस्थाको योजना रहेको मेचेले बताउनुभयो ।

झापाको मेचीनगरपछि बुद्वशान्ति गाउँपालिकाको वडा नं. ४ र ५ स्थित सुकुम्बासी बस्ती तथा इलाम जिल्लाको दक्षिणी वस्तीहरुमा यस्तै चुल्हो वितरण गर्ने योजना रहेको उहाँको भनाई छ ।