३ असोज २०८१, बिहिवार

नागरिकता नहुँदा रोजगारीबाटै बञ्चित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय

२४ असोज २०८०, बुधवार
Image

झापा, २४ असोज । समाजमा तेस्रो लिङ्गीलाई हेर्ने नजर अझै पनि सकारात्मक नभएको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुले बताएका छन् । 

महिला जनचेतना केन्द्रले काँकरभिट्टामा बुधबार आयोजना गरेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा उनीहरुले लैङ्गिकता कै कारण परिवार र समाजले अझै पनि बहिष्करण गर्ने गरेको बताएका हुन् । 


केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पहिचानमै समस्या हुँदा हिंसा र दुव्र्यवहारको शिकार बन्न बाध्य हुनु परेको लिड नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला)ले बताउनुभयो । उहाँले राजनीतिक दलका नेताहरुले अल्पसंख्यकको अधिकारको क्षेत्रमा बोले पनि व्यवहारमा नागरिकता लिनेदेखि बैबाहिक समानता र शिक्षा पाउने जस्ता विषयमा विभेद सहँदै आएको बताउनुभयो । 

उहाँले अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरु नागरिकता र रोजगारीबाट बञ्चित हुँदा सडकमा मागेर जीविकोपार्जन गर्न बाध्य बनेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा मात्र यो समुदायको संख्या २० हजार बढी रहेता पनि नेपालको जनगणना २०७८को नजितामा तीन सय मात्र देखाएको छ । 

उहाँले परिवार र समाजबाट बहिष्करणमा परेको यो समुदायलाई सरकारले समेत बेवास्ता गरेको गुनासो गर्नुभयो । “हामी नागरिकता नहुँदा पहिचानविहीन बनेका छांै”, उहाँले भन्नुभयो “कि सरकारले तिमीहरु यस देशका नागरिक होइन भन्नुपर्यो । होइन भने हामीले पनि आफ्नो अधिकार उपभोग गर्न पाउनु पर्छ । सरकारले लिंगको आधारमा विभेद गर्न मिल्दैन ।”

चञ्चलाले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको समस्या र चुनौतीका बारेमा सहजीकरण गर्दै सो समुदायको उत्थानका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा जनचेतना केन्द्रकी कार्यकारी निर्देशक राधा प्रधानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सरकारले सीप सिकाएर रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । उहाँले केन्द्रले पनि अन्य समुदायसगै उनीहरुलाई सीप सिकाउन सहयोग गर्ने बचन दिनुभयो । 

मेची उद्योग बाणिज्य संघ मेचीनगरका कार्यकारी अधिकृत गोपाल बस्नेतले उद्योगी व्यवसायीहरुसँग समन्वय गरी सो समुदायलाई रोजगारीका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा आफू तेस्रो लिङ्गी भएका कारण नागरिकता र रोजगारीबाट बञ्चित हुँदा सडकमा मागेर जीविकापार्जन गर्न बाध्य हुनुपरेको मेचीनगर–८ की परी, मेचीनगर–६ की बसन्तीले बताउनुभयो । 

कार्यक्रममा सुरक्षाकर्मी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको  कार्यक्रम संयोजक मनिला उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सो समुदायले समाजमा भोग्दै आएको समस्याको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।