२ कार्तिक २०८२, शनिवार

जेनजी आन्दोलन : मेचीनगरको वडा र नगर भवनमा रु. तीन करोडभन्दा बढी क्षति

२ कार्तिक २०८२, शनिवार
Image

झापा, १ कात्तिक । जेनजी आन्दोलनकारीले गरेको आगजनी र तोडफोडबाट मेचीनगर नगरपालिका र वडा कार्यालहरुमा रु. तीन करोड ३३ लाखभन्दा बढीको भौतिक क्षति भएको नगरपालिकाले जनाएको छ ।

भदौ २४ गते आन्दोलनकारीको भीडले इटाभट्टास्थित नगरको मुख्य प्रशासनिक भवन र ११ वटा वडा कार्यालय भवनमा आगो लगाउनुका साथै त्यहाँभित्रका कागजपत्र र सरसामान बाहिर निकालेर जलाएको थियो ।

नगरपालिकाको मुख्य प्रशासनिक भवनमा रु. ६८ लाखभन्दा बढीको भौतिक क्षति भएको नगरका प्रवक्ता दिपक बरालले जानकारी दिनुभएको छ ।

आन्दोलनकारीले वडा नं. १२, १३ र १४ बाहेक सबै वडा कार्यालयमा आगो लगाएका थिए । वडा नं. १२ र १३ कार्यालय भाडामा लिइएको निजी भवनमा थियो । वडा नं. १४ को वडा भवनमा आन्दोलनकारीले कुनै क्षति पुर्याएनन् ।

वडा कार्यालयतर्फ रु. ९६ लाख ७५ हजारभन्दा बढी क्षति पुगेको बरालले बताउनुभयो ।

मेचीनगरमा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय बाहेक निजी घरहरुमा समेत आगजनी, तोडफोड र लुटपाट भएको थियो ।