२७ वैशाख २०८१, बिहिवार

कोशीकै ठूलो सौर्य ऊर्जाको निर्माण कार्य अन्तिम चरणमा

२६ असोज २०८०, शुक्रवार
Image

झापा, २६ असोज ः कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्यूत उत्पादन गर्ने सौय ऊर्जा निर्माणको कार्य करिब ९० प्रतिशत पूरा भइसकेको छ ।

चार बर्षअघि रु. ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ । 

झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिगाहा जमिनमा २२ हजार ६०० सोलार प्यानल जडान गरिने उहाँले जानकारी दिनुभयो । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिना अघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ । 

“यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ”, निर्देशक भट्टराईले भन्नुभयो, “अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाडै सक्छौं ।” सो परियोजना निर्माणका लागि माछापुछ«े बैंकले रु ३५ करोड र शिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु.२० करोड शेयरदाताहरुबाट लगानी गरिएको उहाँको भनाई छ । उहाँले जलविद्युत परियोजना भन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत परियोजनाबाट दिन सकिने बताउनुभयो ।

विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित उर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचनाहरु एक बर्ष अघि नै तयारी भइसकेको बताउनुभयो उहाँले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । 

उर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र उर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उहाँले बताउनुभयो । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उहाँको भनाई छ । 

झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य उर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उहाँको भनाई छ । उहाँले नेपाल विद्युत प्राधिकरणलाई यहाँ उत्पादित विद्युत प्रतियुनिट रु. ७.३० का दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिनुभयो ।