२६ वैशाख २०८१, बुधवार

झापाका शिक्षकहरुका लागि ‘भावातीत ध्यान’ शिविर सुरु

२८ असोज २०८०, आइतवार
Image

झापा, २८असोज । झापाको कनकाईमा विद्यालय शिक्षकका लागि शनिवारदेखि चार दिवसीय ‘भावातीत ध्यान’ शिविर सुरु भएको छ । जिल्ला ६५ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक शिविरमा सहभागी भएका छन् ।

‘शान्ति, आनन्द, समृद्धि, स्वास्थ्य र भौतिक सफलताका लागि ध्यान’ भन्ने नाराका साथ संकल्प प्रतिष्ठान नेपाल र नेपाल महर्षि फाउन्डेसनले शिविरको आयोजना गरेको हो ।

शिविरको उद्घाटन क्रममा झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले बिगत एक वर्षदेखि आफु पनि भावातीत ध्यानको अभ्यासमा रहेको जनाउँदै समाजमा शान्ति र समृद्धिका लागि ध्यान र ज्ञानको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले झापामा चिकित्सक, शिक्षक र युवाहरु नै चरम डिप्रेसनका कारण आत्महत्याको शिकार भइरहेको प्रसंग जोड्दै भावातीत ध्यानले मानिसलाई तनावमुक्त जीवन जिउने कला सिकाउने धारणा व्यक्त गर्नुभयो ।

नेपाल महर्षि फाउन्डेसनका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले महर्षि महेश योगीद्वारा प्रवर्तित भावातीत ध्यान विधि बेद र विज्ञान दुबैबाट प्रमाणित रहेको बताउँदै विश्वका अधिकांश देशका ६० लाखभन्दा बढी मानिसले नियमित अभ्यास गरिरहेको जानकारी दिनुभयो । 

ध्यानले व्यक्तिको जीवनमा मात्र नभएर समाज र देशको शान्ति र समृद्धि स्थापनामा सहयोग पुर्याउने भएकाले फाउन्डेसनले हरेक मुलुकका एक प्रतिशत नागरिकमा भावातीत ध्यानको बानी बसाउने अभियान सञ्चालन गरिरहेको उहाँको भनाई थियो ।

ध्यान प्रशिक्षक माधव अर्यालले मानिसमा हुने रोगको ९० प्रतिशत कारण तनाव र चिन्ता नै भएको अनुसन्धानबाट प्रमाणित भएको जानकारी दिदै भावातीत ध्यानले मनमा उत्पन्न हुने निराशा र नकारात्मक विचारलाई हटाउने दावी गर्नुभयो ।

समाजमा आत्महत्या र मानसिक रोगको समस्या विकराल रुपमा बढिरहेको हुँदा यसलाई न्यूनीकरण गर्न ध्यान सबैभन्दा उपयुक्त समाधान भएको उहाँको भनाई थियो । 

नेपाल महर्षि फाउन्डेसनले देशभर भावातीत ध्यान शिविर अभियान सञ्चालनका लागि हालै मात्र १५० जना प्रशिक्षक उत्पादन गरेको फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभएको छ । 

झापाको सुरुंगास्थित लोटस पार्टी प्यालेसमा सञ्चालन भइरहेको उक्त ध्यान शिविरमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, सहायक प्रजिअ रुद्र न्यौपाने लगायतका सरकारी कार्यालयका प्रमुखहरुको समेत सहभागिता रहेको संकल्प प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र प्रसाईले बताउनुभयो ।

उहाँले झापामा आत्महत्या जस्ता नकारात्मक घटनाको अत्याधिक वृद्धि भएको हुँदा त्यस्ता घटना रोकथामका लागि प्रतिनिधिसभा सदस्य एलपी साँवाको पहलमा महर्षि फाउन्डेसनसँग सहकार्य गरेर भावातीत ध्यान शिविर सञ्चालन गरिएको बताउनुभयो ।

शिविरमा सहभागी जनता माध्यमिक विद्यालयका प्राचार्य दामकुमार कुँवरले मनलाई शान्त र सोचलाई सकारात्मक बनाउन मदत पुग्ने अपेक्षाका साथ चारै दिन ध्यानमा सहभागी हुने बताउनुभयो ।