२३ भदौ २०८१, आइतवार

‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ शुभारम्भ

२८ असोज २०८०, आइतवार
Image

झापा, २८ असोज । मानव सेवा आश्रमले ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ आजदेखि पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु गरेको छ ।

सुप्रसिद्ध गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्ज्वलन गरी शनिबार  साँझ यात्राको शुभारम्भ गर्नुभयो ।

आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित यो यात्रा क्रममा कोशी प्रदेशभरका सहयोगापेक्षी सडक मानवहरुको उद्धार गरी विराटनगरस्थित आश्रममा राखिने भएको छ ।

फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले असहायहरुको सेवा नै सच्चा मानव सेवा भएको जनाउँदै अभियानमा जोडिन पाउनु जीवनकै सबैभन्दा राम्रो कर्म भएको बताउनुभयो ।

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले कोही पनि नागरिकले सडकमा कष्टपूर्वक जीवन बिताउनु नपरोस् भनेर मानव सेवा आश्रमले बिगतदेखि गरिरहेको प्रयासको सराहना गर्दै यस कार्यमा नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालबाट शुक्रवार बालुवाटारमा आयोजित कार्यक्रमबीच यात्राको उद्घाटन भएको र आज कोशी प्रदेशमा उद्धार कार्य शुभारम्भ भएको बताउनुभयो ।

मुलुकका ४६ जिल्लामा उद्धार यात्रा सञ्चालन हुने र आगामी मंसिर ४ गते अभियान समापन हुने जनाउँदै उहाँले चाडपर्वका बेला सडकमा असहाय बनेर आमाबुवाहरु भौतारिरहेको देख्दा सबैको मन रुने बताउनुभयो । “कसैले पनि सहयोगापेक्षी भएर चाडवाडका बेला सडकमा बस्नु नपरोस् भन्ने हाम्रो अभियानको उद्देश्य हो,” उहाँले भन्नुभयो–“अभियानलाई सफल बनाउन सबैबाट सहयोग मिल्ने अपेक्षा गरेका छौं ।”

झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले सडक मानवहरुको उद्धार अभियानमा नेपाल प्रहरीले आवश्यक सुरक्षा र सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले सडकमा अलपत्र जीवन बिताइरहेका मानवहरुको उद्धारमा सबै पक्षको सहयोग र चासो हुनुपर्ने बताउनुभयो ।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीका अनुसार आइतवार विहानदेखि झापास्थित पूर्वपश्चिम राजमार्ग र वरपरका सडकहरुमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार गरिने भएको छ । यस कार्यका लागि आश्रम र आनी छोइङ डोल्मा प्रतिष्ठानमा आवद्ध स्वयम्सेवकहरुको ठूलो समूह परिचालन हुनेछ ।

प्रहरी टोली, एम्बुलेन्स र स्यवम्सेवकको प्रयोग गरेर सडक मानवहरुको उद्धार गरिने र बसोबासका लागि विराटनगर लगिने सामाजिका अभियन्ता नरेश मोहोराले  जानकारी दिनुभयो । बिगतमा पनि मानव सेवा आश्रमले सडक मानवहरुको उद्धार अभियान सञ्चालन गरेको थियो ।

आजको शुभारम्भ कार्यक्रममा लायन्स क्लव अफ काँकरभिट्टाले संयोजन गरेको थियो । कार्यक्रममा लायन्सका शंकर थापा, मोहन मैनाली लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।